काठमाडौं । काठमाडौं उपत्यकाको पश्चिमी प्रवेशद्वारमा रहेको बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति करिब ९९ प्रतिशत पूरा भएको हो ।
केही बाँकी निर्माणका काम सकेर आयोजनलाई सञ्चालनको लागि हस्तान्तरण गर्ने तयारी भएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले जानकारी दिए । उनकाअनुसार सुरुङमागै सञ्चालन गर्न पाँच वर्षको लागी चिनियाँ कम्पनी युसिन–एआरटी जेभीलाई ५ वर्षको लागि दिइएको छ । सोमबार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले गरेको सुरुङमार्गको अनुगमनका क्रममा निर्देशक नेपालले सुरुङमार्गका भौतिक प्रगतिका बारेमा सांसदहरुलाई जानकारी गराएका थिए ।
सो क्रममा नेपालले सुरुङमार्ग निर्माणमा केही ढिलाई भएको बताए । ४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि विभिन्न कारणले चार पटक म्याद थपिँदा थप ३६ महिना समय लागेको उनको भनाई छ । उनकाअनुसार २०१९ सेप्टेम्बर २३ बाट शुरु भएको परियोजना २०२६ अप्रिल २५ सम्म म्याद थप गरिएको थियो । करिव २२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा १६ अर्ब रुपैयाँ निर्माण कार्यमा र ६ अर्ब रुपैयाँ जग्गा अधिग्रहणमा खर्च भएको उनले जानकारी दिए ।
उनकाअनुसार वित्तीय प्रगति ९६ प्रतिशत पुगेको छ । सुरुङमार्ग अन्तराष्ट्रिय मापदण्डअनुसार निर्माण भएको उनले जानकारी दिए । सुरुङमार्गभित्र अत्याधुनिक प्रविधिहरू जडान गरिएको छ । पावर सप्लाइ, स्मार्ट लाइटिङ, सिसिटिभी निगरानी, रिमोट मोनिटरिङ तथा कन्ट्रोल सिस्टम, भेन्टिलेसन प्रणाली (सवारी चापअनुसार स्वचालित) र आधुनिक फायर फाइटिङ प्रणाली जडान गरिएको उनले जानकारी दिए । साथै आपतकालीन अवस्थामा सूचना दिन ‘भेरिएबल म्यासेज साइन’, ट्राफिक सिग्नल तथा कन्ट्रोल रुमबाट प्रत्यक्ष निगरानी गर्ने व्यवस्था गरिएको छ ।
उनले भने, ‘हाम्रो करिव २२ अर्बको आयोजना हो । २२ अर्बमध्ये १६ अर्ब चाहीँ कन्स्ट्रक्सन कस्ट र ६ अर्ब चाहीँ ल्याण्ड एक्विजिसनमा खर्च भएको छ । अहिलेसम्म करिव ९९ प्रतिशत नै फिजिकल प्रोग्रेस भनौँ, अब यो पनि लगभग सम्पन्न नै भइसकेको छ । केही सामान्य माइनर आउटस्ट्यान्डिङ वक्र्सहरू मात्रै बाँकी रहेको छ भने वित्तीय प्रगति हामी अहिले ९६ प्रतिशतमा छौँ । सुरुङ मार्गभित्र जडान भएका अत्याधुनिक प्रविधिका सुविधाहरु छन् ।’
कुल २ दशमलव ६८८ किलोमिटर लम्बाइको यस सुरुङमार्गमा दुईवटा छुट्टाछुट्टै सुरुङ निर्माण गरिएको छ । मुख्य सुरुङमार्ग सवारीसाधन आवतजावतका लागि प्रयोग हुनेछ भने अर्को सुरुङ आपत्कालीन उद्धार तथा सुरक्षा प्रयोजनका लागि निर्माण गरिएको हो । यी दुई सुरुङलाई हरेक ३७५ मिटरमा आपसमा जोड्ने व्यवस्था गरिएको उनले बताए । यसले आकस्मिक अवस्थामा सुरक्षित निकासको सुविधा प्रदान गर्नेछ । उहाँकाअनुसार मुख्य सुरुङमार्ग ११ मिटर चौडा रहेको छ, जसमा विपरीत दिशातर्फ चल्ने सवारीका लागि ३.५–३.५ मिटरका दुई लेन र बीचमा करिब १.५ मिटरको दूरी छुट्याइएको छ ।
आपत्कालीन सुरुङमार्गको लम्बाइ करिब २.५ किलोमिटर रहेको छ भने यसको चौडाइ र उचाइ मुख्य सुरुङभन्दा कम छ । यो सुरुङ आपतकालीन अवस्था मात्र प्रयोग गरिने उनले जानकारी दिए । जापानको हाजमा आन्दो कर्पोरेसनले सुरुङ निर्माणको कार्य गरेको हो भने निप्पोन कोइ, जीइओ रिसर्च र नेपाली परामर्शदाता संस्थाहरूको संयुक्त रुपमा सुरुङमार्गको डिजाइन तथा सुपरभिजन गरेका थिए ।
सुरुङमार्ग सञ्चालनको लागि १५० जनाको जनशक्ति २४ सै घण्टा परिचालन
सुरुङमार्ग सञ्चालनको लागि १५० जनाको जनशक्ति २४सै घण्टा परिचालन गर्ने तयारी गरिएको छ । टोलीलाई ट्राफिक निगरानी तथा कन्ट्रोल, प्राविधिक मर्मत, सिभिल संरचना मर्मत, सुरक्षा तथा उद्धार (फायर फाइटिङ, एम्बुलेन्स सेवा सहित) र टोल संकलन गरी पाँचवटा युनिटमा विभाजन गरिने निर्देशक नेपालले जानकारी दिए । विशेष गरी सुरुङ ‘क्लोज्ड सिस्टम’ हुने भएकाले दुर्घटना वा आगलागीको अवस्थामा जोखिम बढी हुने हुँदा सुरक्षा व्यवस्थापनमा ६४ जनाको छुट्टै टोली खटाइने उनले बताए । उनकाअनुसार हाल नागढुंगा–बलम्बु खण्डमा सवारीसाधनको गति पीक आवरमा १० किमी प्रतिघण्टा पनि पुग्न सक्दैन र सानो अवरोध हुँदा घण्टौँ जाम हुने अवस्था छ । सुरुङमार्ग सञ्चालनमा आएपछि सिस्ने खोला (पश्चिम पोर्टल) बाट बलम्बुसम्मको यात्रा करिब ७ मिनेटमै पूरा गर्न सकिने उनको भनाई छ ।
उनले भने, ‘सुरुङमागै व्यवस्थापनको लागी हामीले ५ वर्षको लागि सेवाप्रदायक नियुक्त पनि गरिसकेका छौँ । यसै हप्ताबाट सेवाप्रदायक चाहीँ फिल्डमा मोबिलाइज हुँदै हुनुहुन्छ । उहाँहरूले १५० जनाको कर्मचारीहरू २४सै घण्टा सञ्चालन गर्नलाई तयार गर्नुहुनेछ र उहाँहरूले २४सै घण्टा नागढुङ्गा सुरुङ मार्गलाई सञ्चालन गर्नुहुनेछ । त्यो ५ वटा युनिटमा डिभिजन हुनेछ।’
वार्षिक करिव ३५ करोड रुपैयाँ राजस्व उठ्ने अनुमान
आयोजना निर्देशक नेपालले सुरुङमार्गमा सञ्चालनमा आएपछि वार्षिक करिब ३५ करोड रुपैयाँ राजश्व उठ्ने अनुमान गरिएको जानकारी दिए । हाल दैनिक करिव ८ हजार भन्दा बढी सवारी नागढुंगा नाकाबाट आवतजावत गर्ने गरेका छन् । यिमध्ये ६० प्रतिशत सवारी सुरुङमार्गतर्फ मोडिएमा ३५ करोड रुपैयाँ राजस्व उठ्ने बताए । उक्त राजस्व सिधै सडक बोर्ड नेपालको खातामा जम्मा हुने उनको भनाई छ ।
उनकाअनुसार सुरुङमार्गमा आरएफआईडी आधारित स्वचालित टोल प्रणाली लागू गरिनेछ । सवारीसाधनमा जडान गरिएको ट्यागमार्फत टोल प्लाजामा रोकिनु नपरी स्वतः शुल्क कट्ने व्यवस्था गरिएको हो । सुरुङगमार्गमा सवारीसाधनको प्रकारअनुसार शुल्क निर्धारण गरिएको छ । समय, इन्धन, सञ्चालन लागत लगायतका आधारहरू शुल्क निर्धारण गरिएको उनले जानकारी दिए । हरेक दुई वर्षमा सुरुङमार्ग प्रवेशको शुल्क परिमार्जन गर्ने पनि जानकारी दिए ।
उनले भने, ‘हाल करिव नागढुङ्गाबाट पास हुने करिव ८८००–८९०० सवारीसाधन रहेका छन् । करिव ६० प्रतिशत भेहिकलहरू टनेलबाट डाइभर्ट भए भने हाम्रो रेभेन्यु करिब वार्षिक ३५ करोड हुने हामीले आँकलन गरेका छौँ । यद्यपि यो चाहीँ अब सुरुङ मार्ग सञ्चालन भएर सबै अभ्यस्त भइसकेपछि यो केही चाहीँ डाटाहरू चेन्ज पनि हुन सक्छ । यो हाम्रो अनुमान मात्रै हो ।’
उनले सुरुङमार्ग निर्माणको प्रभावित सबैलाई मुआब्जा वितरण गरिसकेको पनि जानकारी दिए । उनका घर क्षति भएका १८ परिवारलाई पूर्ण रुपमा र ७५ घर परिवारलाई आंशिक क्षतिपूर्ति दिइएको छ ।