काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को आफ्नो स्वामत्विको सेयर बिक्री गरेको छ । राष्ट्र बैंकले नेप्सेमा आफ्नो स्वामित्वमा रहेको ६९.७७ प्रतिशत सेयर बिक्री गरेको हो ।
हाल नेप्सेमा राष्ट्र बैंकको १४.६० प्रतिशत अर्थात् ७ लाख २९ हजार ९८९.५ कित्ता सेयर स्वामित्व छ । राष्ट्र बैंकले बिक्री गरेको सो सेयर राष्ट्रिय वाणिज्य बैंकले खरिद गरेको बताइएको छ । वाणिज्य बैंकलाई प्रतिकित्ता ६७६.५२ रुपैयाँका दरले ओटीसी बजारमार्फत् ५ लाख ९ हजार ३४२ कित्ता सेयर बिक्री गरेको हो ।
‘राष्ट्रिय वाणिज्य बैंकले राष्ट्र बैंकबाट ६ प्रतिशत सेयर खरिद गरेको हो, नयाँ स्टकको लाइसेन्स वितरण गर्नु अघि नै सेयर खरिद गर्ने सम्झौता भएको थियो, कात्तिकमा सहमति भएको हो, अहिले नामसारी गरिसकेको छ,’ राष्ट्रिय वाणिज्य बैंकका नावय महाप्रबन्धक (डीसीईओ) देवेश प्रसाद लोहनीले भने ।
नेप्सेमा राष्ट्रिय वाणिज्य बैंकको ६.१४ प्रतिशत सेयर स्वामित्व रहेको थियो । थप सेयर खरिद गरेसँगै राष्ट्रिय वाणिज्य बैंकको १२ प्रतिशत सेयर स्वामित्व पुगेको छ । राष्ट्र बैंकको स्वामित्व भने ९ प्रतिशतमा झरेको छ ।
साथै, नेपाल सरकारको ५८.६६ प्रतिशत, कर्मचारी सञ्चय कोषको १० प्रतिशत, लक्ष्मी बैंकको ५ प्रतिशत, प्रभु बैंकको ५ प्रतिशत र अन्य कम्पनीको ०.६ प्रतिशत सेयर स्वामित्व रहेको नेप्सले जनाएको छ ।