बीमा प्राधिकरणले तोक्यो अन्तर्राष्ट्रिय सम्मेलनको दर्ता शुल्क, नेपालीलाई १५ हजार, विदेशीलाई कति ?

<p>काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी जेठ २५ गतेदेखि जेठ २७ गतेसम्म बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्दै छ । प्राधिकरणले काठमाडौंको याक एण्ड यति होटलमा ‘एशियन इन्स्योरेन्स मीट-बिल्डिङ रिसाईलियन्स अफ इन्स्योरेन्स टुवार्डस् इमर्जिङ रिस्क’ विषयमा तीन दिने सम्मेलन गर्न लागेको हो । तीन दिनसम्म हुने सम्मेलनमा नेपाल लगायत विभिन्न देशका बीमा लगायत वित्तीय क्षेत्रका नियामक [&hellip;]</p>

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी जेठ २५ गतेदेखि जेठ २७ गतेसम्म बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्दै छ । प्राधिकरणले काठमाडौंको याक एण्ड यति होटलमा ‘एशियन इन्स्योरेन्स मीट-बिल्डिङ रिसाईलियन्स अफ इन्स्योरेन्स टुवार्डस् इमर्जिङ रिस्क’ विषयमा तीन दिने सम्मेलन गर्न लागेको हो ।

तीन दिनसम्म हुने सम्मेलनमा नेपाल लगायत विभिन्न देशका बीमा लगायत वित्तीय क्षेत्रका नियामक निकायका पदाधिकारीहरू, नेपालका बीमा कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरू, बीमासँग सम्बन्धित सरकारी निकायका पदाधिकारीहरू, बीमा विज्ञ तथा बीमा मध्यस्थकर्ता र अन्य बीमा सेवा प्रदायक लगायत वित्तीय क्षेत्रका सङ्घ संस्थाका पदाधिकारीहरू लगायतको सहभागिता रहनेछ ।

प्राधिकरणका अनुसार उक्त सम्मेलनमा नेपाली र विदेशी गरी अनुमानित ३५० जना सहभागी हुने छन् । उक्त सम्मेलनमा उपस्थित हुन स्वदेशी र विदेशी सहभागीहरुले आफ्नो नाम दर्ता गर्नुपर्ने हुन्छ । जसको लागि छुट्टाछुट्टै शुल्क तोकिएको प्राधिकरणले जानकारी गराएको छ ।

प्राधिकरणका अनुसार सार्क राष्ट्रका सहभागीहरुलाई ३ सय डलर र सार्क राष्ट्र बाहेकका राष्ट्रका सहभागीहरुलाई ५ सय डलर तोकिएको छ । त्यस्तै, स्थानीय नेपाली सहभागीहरुलाई भने १५ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको प्राधिकरणकी निर्देशक पुजन ढुंगेल अधिकारीले बताइन् । उक्त शुल्क स्थानीय नेपाली सहभागीहरूले नगद वा चेक मार्फत र अन्तर्राष्ट्रिय सहभागीहरूले क्रेडिट कार्ड वा अन्तर्राष्ट्रिय बैंक स्थानान्तरण मार्फत भुक्तानी गर्न सक्नेछन् ।

प्राधिकरणले अन्तर्राष्ट्रिय सम्बन्ध थप बलियो बनाउन उक्त सम्मलेन आयोजना गर्न लागेको हो । ‘अन्तर्राष्ट्रिय सम्बन्ध थप बलियो बनाउन, अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उपस्थिति देखाउनु नै यो सम्मेलनको उद्देश्य हो,’ निर्देशक अधिकारीले बताइन् ।

साथै, यो सम्मेलनले बीमा क्षेत्र लगायत समग्र अर्थतन्त्रलाई नै फाइदा हुने प्राधिकरणको भनाई छ । सम्मेलनमा बीमा क्षेत्रका विद्यमान अवस्था तथा जोखिमहरू र सोको निवारणका लागि अवलम्बन गरिएका अन्तर्राष्ट्रिय अभ्यास, जलवायु परिवर्तन र त्यसको प्रभाव, पुनर्बीमाको अवस्था, विभिन्न देशका बीमा नियामक निकायका काम कारवाही र बीमा क्षेत्रको दीगो विकासका लागि चाल्नुपर्ने कदम लगायतका बीमा क्षेत्र सम्बन्धी समग्र विषयमा कार्यपत्रहरूमाथि छलफलका साथै आपसी अनुभव आदान प्रदान गर्ने कार्यक्रम रहेको छ ।

प्राधिकरणले आयोजना गर्ने उक्त सम्मेलनको सह-आयोजकको रुपमा इन्टरनेशनल एशोसिएशन अफ इन्स्योरेन्स सुपरभाइजर्स (आईएआईएस), एशियन डेभलपमेन्ट बैंक (एडीबी) र एसेस टु इन्स्योरेन्स इनिसियटिभ (एटुआईआई) रहेका छन् ।

Share News