अर्थमन्त्रालयले भन्यो- सरकारी लगानीका बीमा कम्पनीहरू कमजोर देखिए

काठमाडौं । अर्थमन्त्रालयले  मुलुकको पछिल्लो आर्थिक अवस्थालाई समेटेर जारी गरिएको ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’ (श्वेतपत्र) मा सरकारको लगानीमा स्थापित बीमा कम्पनीहरूको संस्थागत क्षमता कमजोर रहेको औंल्याइएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जारी गरेको उक्त श्वेतपत्रमा सरकारको लगानीमा रहेका बीमा कम्पनीहरूको संस्थागत क्षमता कमजोर रहेको उल्लेख गरिएको हो ।

सरकारकाे लगानीमा स्थापित बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी र नेपाल नेपाल पुनर्बीमा कम्पनी हुन् ।

अर्थमन्त्री वाग्लेले बीमा व्यवसायको नियमनमा व्यापक सुधार गरी एकातर्फ कृत्रिम बीमा दाबी र भुक्तानीको परिपाटी रोक्नुपर्ने औंल्याएका छन् ।

‘बीमा व्यवसायको नियमनमा व्यापक सुधार गरी एकातर्फ कृत्रिम बीमा दाबी र भुक्तानीको परिपाटी रोक्नुपर्छ भने भने अर्कोतर्फ बीमा सेवाको दायरा विस्तार गरी जोखिम व्यवस्थापन र दीर्घकालीन पुँजी परिचालन गर्नुपर्नेछ,’ श्वेतपत्रमा भनिएको छ ।

पछिल्लो समय बीमा सेवा दायरा फराकिलो हुँदै गएको छ । नेपालको बीमा क्षेत्रमा हालसम्म १४ जीवन बीमा, १४ निर्जीवन बीमा, ७ लघुबीमा तथा २ पुनर्बीमा गरी कुल ३७ बीमा कम्पनी सञ्चालनमा रहेका छन् । सरकारले सार्वजनिक गरेको श्वेतपत्रनुसार बीमाको पहुँच २०८२ फागुनसम्म ४९.९२ प्रतिशत पुगेको छ ।

Share News