काठमाडौं । मर्जर प्रकृयामा रहेका युनाईटेड इन्स्यारेन्स र अजोड इन्स्योरेन्सले आगामी जेठ १४ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । दुई कम्पनी मर्ज भई युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट सो दिनदेखि एकीकृत कारोबार गर्ने तयारी गरेका हुन् ।
‘आगामी आइतबारदेखि एकीकृत कारोबार शुरु गर्छौं,’ अजोड इन्स्योरेन्सको उच्च श्रोतले बतायो ।
गत पुस अन्तिममा प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले चैत १६ गते अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । त्यसलगत्तै कम्पनीहरुले बैशाख अन्तिम साताभित्र एकीकृत कारोबार गर्ने योजना बनाएका थिए । जुन सफल हुन सकेन र करिब दुई साता लम्बियो ।
दुई कम्पनीबीच सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) १०० बराबर ८२.५ मा मर्जरमा जाने सहमति भएको हो । अर्थात अजोडको १०० कित्ता सेयर हुने सेयरधनीले युनाइटेडमा गाभिएपछि ८२.५ कित्ता सेयर पाउने छन् ।
मर्जपछि बन्ने युनाइटेड अजोड इन्स्योरेन्सको अध्यक्षमा अजोड इन्स्योरेन्सका अध्यक्ष अजद श्रेष्ठ बन्ने छन् भने सीईओमा श्रवण रावललाई नियुक्त गरिने कम्पनी सञ्चालक समितिको प्रस्ताव छ । समितिको प्रस्तावलाई नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि मात्रै रावलले कम्पनीको सीईओको कार्यकाल सम्हाल्ने छन् । रावल आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) हुन् । त्यसअघि उनी साविकको प्रुडेन्सियल इन्स्योरेन्सका सीईओ थिए ।
त्यस्तै, युनाइटेड अजोडको सिनियर डीसीईओ कुमार बहादुर खत्री हुनेछन् । उनी अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् ।
त्यस्तै, हाल युनाइटेड इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ७ करोड रुपैयाँ छ । अजोडको एक अर्ब रुपैयाँ बराबरको चुक्ता पुँजी छ । १०० बराबर ८२.५ को स्वाप रेसियोमा मर्ज भएसँगै बन्ने युनाइटेड अजोड इन्स्योरेन्सको चुक्ता पुँजी करिब एक अर्ब ९० करोड रुपैयाँ पुग्ने छ ।