बीमा कम्पनीसँगै घटे शाखा, ८४.७ प्रतिशतसम्मले बढ्यो लगानीयोग्य रकम

<p>काठमाडौं । एक वर्षको अवधिमा बीमा कम्पनीको संख्या १२.२० प्रतिशतले घटेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९/८० अनुसार २०७८ फागुनको तुलनामा २०७९ फागुनसम्ममा कम्पनीको संख्या सो मात्राले घटेको हो । २०७८ फागुनसम्म जीवन बीमा कम्पनी १९, निर्जीवन बीमा कम्पनी २० र पुनर्बीमा कम्पनी २ गरी जम्मा बीमा कम्पनीको सङ्ख्या ४१ रहेको थियो [&hellip;]</p>

काठमाडौं । एक वर्षको अवधिमा बीमा कम्पनीको संख्या १२.२० प्रतिशतले घटेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९/८० अनुसार २०७८ फागुनको तुलनामा २०७९ फागुनसम्ममा कम्पनीको संख्या सो मात्राले घटेको हो ।

२०७८ फागुनसम्म जीवन बीमा कम्पनी १९, निर्जीवन बीमा कम्पनी २० र पुनर्बीमा कम्पनी २ गरी जम्मा बीमा कम्पनीको सङ्ख्या ४१ रहेको थियो । जुन घटेर २०७९ फागुनसम्म जीवन बीमा कम्पनी १८, निर्जीवन बीमा कम्पनी १६ र पुनर्बीमा कम्पनी २ वटामा झरेका छन् ।

नेपाल बीमा प्राधिकरणले चुक्ता पुँजी वृद्धि गर्ने व्यवस्थाको कारण चालु आर्थिक वर्षको शुरुवात देखि नै बीमकहरू गाभ्ने र गाभिने क्रम शुरु भएको छ । फलस्वरूप, बीमकको संख्यासँगै शाखा कार्यालयहरू पनि घटेका हुन् । २०७८ फागुनसम्म बीमकको शाखा संख्या जीवन बीमातर्फ २,२९२ र निर्जीवन बीमातर्फ १,०३७ रहेकोमा २०७९ फागुनसम्म यस्तो सङ्ख्या क्रमशः २,२०६ र १,०३७ रहेको छ ।

२०७९ फागुनसम्म जीवन बीमा व्यवसाय गर्ने बीमकको स्रोत तथा उपयोग ६ खर्ब २३ अर्ब ८९ करोड र निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको ८९ अर्ब ५८ करोड गरी ७ खर्ब १३ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म बीमा व्यवसायको कुल वित्तीय स्रोत तथा उपयोग ६ खर्ब ४ अर्ब ३ करोड रुपैयाँ रहेको थियो ।

२०७९ असारसम्म वैदेशिक रोजगार म्यादी जीवन बीमासहित बीमाको दायरामा आएको जनसङ्ख्या ४१.२ प्रतिशत रहेकोमा २०७९ फागुनसम्म ४४.०५ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७८/७९ मा बीमा प्रिमियम १ खर्ब ७७ अर्ब ८१ करोड रुपैयाँ रहेको छ ।

जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको लगानीयोग्य रकम क्रमशः वृद्धि हुँदै गएको छ । आर्थिक वर्ष २०७९/८० को फागुनसम्म लगानीयोग्य रकम ६ खर्ब ८२ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । कुल लगानीयोग्य रकममध्ये जीवन र निर्जीवन बीमाको अंश क्रमशः ८४.७ प्रतिशत र १५.३ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७९/८० को फागुनसम्ममा जीवन बीमातर्फ १ लाख १३ हजार २६ बीमालेख अन्तर्गत १८ अर्ब ९६ करोड रकम बराबरको दावी भुक्तानी भएको छ । निर्जीवन बीमातर्फ १ लाख ९ हजार ९ सय ८० बीमालेखको १६ अर्ब ४८ करोड रकम बराबरको कुल दाबी भुक्तानी भएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा जीवन बीमातर्फ ३ लाख ३१ हजार ६ सय ३५ बीमा दाबीको ४४ अर्ब ६० करोड रुपैयाँ र निर्जीवन बीमातर्फ १ लाख ४१ हजार १ सय ८६ बीमा दाबीको १८ अर्ब ८२ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी भएको थियो ।

Share News