एउटै कम्पनीमा ६० प्रतिशतभन्दा बढी पुनर्बीमा गर्न नपाइने, स्वदेशी कम्पनीसँगै पुनर्बीमा गर्नुपर्ने

<p>काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका, २०८० जारी गरेको छ । जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको पुनर्बीमा व्यवस्थालाई व्यवस्थित गर्न प्राधिकरणले यो निर्देशिका जारी गरेको हो । प्राधिकरणले बीमा ऐन, २०७९ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशिका स्वीकृत लागू गरेको हो । जेठ ८ गते स्वीकृत भएको यो निर्देशिकामा विभिन्न [&hellip;]</p>

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका, २०८० जारी गरेको छ । जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको पुनर्बीमा व्यवस्थालाई व्यवस्थित गर्न प्राधिकरणले यो निर्देशिका जारी गरेको हो ।

प्राधिकरणले बीमा ऐन, २०७९ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशिका स्वीकृत लागू गरेको हो । जेठ ८ गते स्वीकृत भएको यो निर्देशिकामा विभिन्न नयाँ व्यवस्थाहरु थपिएका छन् ।

थपियो पुनर्बीमाको प्रकार

यो निर्देशिका अनुसार कम्पनीले विभिन्न तीन प्रकारको बीमा गराउन सक्छन् । जसमा टिट्री पुनर्बीमा, ऐच्छिक पुनर्बीमा (फ्याकल्टेटिभ पुनर्बीमा) र बीमा पुल रहेका छन् । यसअघि टिट्री पुनर्बीमा र ऐच्छिक पुनर्बीमा मात्रै थियो ।

बीमकले आफूले जारी गर्ने प्रत्येक बीमालेख अन्तर्गत जोखिमको पर्याप्त मात्रामा महाविपत्ति पुनर्बीमा सम्बन्धी व्यवस्था गराउनु पर्ने छ । कम्पनीले महाविपत्ति पुनर्बीमा गराउँदा कम्पनीको खुद धारण पुनर्बीमा सम्झौताको हकमा जीवन बीमकको लागि १० करोडसम्म धारण हुने गरी गर्नुपर्ने छ । जुन यसअघि ५ करोडसम्म मात्रै थियो । त्यस्तै, निर्जीवन बीमकको लागि बढीमा नेटवर्थको १० प्रतिशतसम्म धारण हुने गरी गर्नुपर्ने निर्देशिकामा जनाइएको छ ।

६० प्रतिशतभन्दा बढी पुनर्बीमा गर्न नपाइने

बीमा कम्पनीहरुले पुनर्बीमा गराउँदा जोखिमको पर्याप्त मात्रामा विविधिकरण गराउनु पर्ने व्यवस्था छ । यो अवस्थामा निर्जीवन कम्पनीको हकमा सबै पोर्टफोलियो र प्रति पोर्टफोलियो दुबैको अधिकतम ६० प्रतिशतभन्दा बढी हुनेगरी एउटै कम्पनीमा पुनर्बीमा गराउन पाइने छैन ।

त्यस्तै, पुनर्बीमाको विविधिकरणको लागि मुख्य (लिडर) पुनर्बीमकलाई कुल पुनर्बीमाको बढीमा ४० प्रतिशतसम्म र अन्य सहभागी (फलोअर) पुनर्बीमकको हकमा प्रत्येक पुनर्बीमकलाई बढीमा २० प्रतिशतसम्म पुनर्बीमा दिन सकिन्छ । तर जीवन बीमा कम्पनीको हकमा भने यो व्यवस्था लागू हुने छैन ।

त्यस्तै, सहभागी पुनर्बीमकको रेटिङ् लिडरसरह नै कायम भएमा उक्त पुनर्बीमकसँग मूख्य पुनर्बीमक सरह नै पुनर्बीमा गर्न सकिने व्यवस्था छ ।

प्रतिबीमा लेख अधिकतम् ५० लाख रुपैयाँसम्म धारण गर्न सक्ने

बीमा कम्पनीले आफ्नो नेटवर्थको आधारमा बीमाको प्रकार (पोर्टफोलियो) अनुसार पुनर्बीमा व्यवस्था गर्नु पर्नेछ । नेटवर्थको अधिकतम् धारण जीवन बीमकको हकमा ०.५ प्रतिशत र निर्जीवन बीमकको हकमा ५ प्रतिशतभन्दा बढी हुनु हुँदैन । यसअघि जीवन बीमकको हकमा ०.३ प्रतिशत थियो । त्यस्तै, जीवन बीमकको हकमा प्रति बीमालेख बढीमा ५० लाख रुपैयाँसम्म धारण गर्न सकिने छ । जुन यसअघि २५ लाख रुपैयाँसम्म मात्रै धारण गर्ने सकिने व्यवस्था थियो ।

कुन-कुन जोखिमको एउटै कम्पनीमा हुन्छ पुनर्बीमा ?

नेपाल बीमा प्राधिकरणको नयाँ निर्देशिका अनुसार बीमा कम्पनीहरुले विभिन्न ७ प्रकारका जोखिमका पुनर्बीमा एउटै कम्पनीमा गर्न सक्नेछन् । जसमा महाविपत्ति पुनर्बीमा, फ्याकल्टेटिभ पुनर्बीमा र कुनै विशेष प्रकारको वैदेशिक यात्रा, ट्रेकिङ, क्लिनिकल ट्रायल, पेशागत दायित्व र स्वास्थ्य तथा औषधोपचार जोखिमहरुको पुनर्बीमा एउटै कम्पनीसँग गर्न सकिनेछ । यी बाहेक अन्य कुनै विशेष प्रकारको बीमामा विविधिकरण गर्न नसकी एउटै पुनर्बीमकसँग पुनर्बीमा गर्नु परेमा प्राधिकरणबाट स्वीकृति लिएर पुनर्बीमा गर्न सकिने समेत नयाँ व्यवस्था छ ।

बढ्यो सुरक्षण पत्र पेश गर्ने अवधि

कम्पनीले प्रत्येक आर्थिक वर्षको लागि पुनर्बीमा सम्झौता (पुनर्बीमा ट्रिटी)को सुरक्षण पत्र बीमा प्राधिकरण (साइन स्लिप वा कभर नोट) मा पेश गर्नुपर्छ । उक्त नोटको प्रमाणित प्रति ६० दिनभित्र प्राधिकरणमा पेश गर्नुपर्छ । यसअघिको व्यवस्था अनुसार ४५ दिनभित्र पेश गरिसक्नु पर्थ्यो । तर फ्याक्लटेटिभ पुनर्बीमाको हकमा भने यो व्यवस्था लागू नहुने निर्देशिकामा उल्लेख छ ।

त्यस्तै, विदेशी पुनर्बीमा तथा पुनर्बीमा दलाल प्राधिकरणमा सूचीकृत हुनुपर्ने छ । जसको लागि विभिन्न कागजातहरु प्राधिकरणमा पेश गर्नुपर्ने उल्लेख छ ।

स्वदेशी कम्पनीसँगै पुनर्बीमा गर्नुपर्ने

बीमा कम्पनीले ट्रिटी पुनर्बीमा अन्तर्गत प्रत्यक्ष हिस्सा स्वदेशी पुनर्बीमकलाई प्रदान गरेपछि बाँकी रहेको हिस्साको कम्तीमा ३० प्रतिशत पुनर्बीमा बराबर हुनेगरी स्वदेशी पुनर्बीमकलाई प्रदान गर्नुपर्ने व्यवस्था छ ।

यस अन्तर्गत कम्पनीहरुले जीवन बीमा, मोटर, कृषि, पशुपन्छी तथा जडिबुटी बीमा तथा विविध (यात्रा, ट्रेकिङ तथा स्वास्थ्य बीमा बाहेकका बीमालाई स्वदेशमा नै शतप्रतिशत पुनर्बीमा गर्नुपर्ने छ । त्यसरी प्राप्त पुनर्बीमा स्वदेशी पुनर्बीमकले अस्वीकार गर्न पाउने छैन ।

Share News