काठमाडौं । सरकारले बृद्धा तथा दलित समुदायलाई दिदैँ आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको बताएका हुन ।
उनले ६८ वर्षमा दिदैँ आएको बृद्ध तथा ६० वर्षमाथिका दलित समुदायका बृद्ध बृद्धाहरु लगायतलाई दिदैँ आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको भन्दै एक खर्ब ५७ अर्ब ७३ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको बताएका हुन ।
सामाजिक सुरक्षा भत्ताका लागि सरकारले चालु आर्थिक वर्षको तुलनामा सरकारले २३ अर्ब बढीले रकम विनियोजन गरेको हो ।
चालु आर्थिक वर्षबाट ६८ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई प्रदान गरिदै आएको मासिक ४ हजार रुपैयाँ भत्तालाई निरन्तरता दिइएको छ ।
६० वर्ष पूरा भएका दलित, एकल महिला, विपन्न, सीमान्तकृत वर्ग र समुदाय तथा बालबालिकालाई दिइदै आएको सामाजिक सुरक्षा भत्ताका लागि रकम विनियोजन गरिएको अर्थमन्त्री महतले बताए ।
यस्तै, उनले छात्रवृति, स्वास्थ्योपचार, स्वास्थ्य बीमा लगायतका क्षेत्रमा प्रदान गरिएको सामाजिक सुरक्षाका कार्यक्रमलाई निरन्तरता दिएको बताए ।
चालू आवमा सामाजिक सुरक्षा र औषधि उपचार तथा आर्थिक सहायताका लागि १ खर्ब ३४ अर्ब १ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।
उक्त रकम पनि अपुग भएपछि सरकारले सेवा निवृत्त कर्मचारीको पेन्सन दिन अतिरिक्त स्रोत खोज्नुपरेको थियो ।
सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए ।