काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले बजेट समग्रमा ठिकै रहेको बताएका छन् । आगामी आर्थिक वर्षको बजेटमा विकासन्युजलाई प्रतिकृया दिँदै उनले सो बताएका हुन् ।
‘बजेटमा बीमाको पहुँच बढाउने, शाखा खोल्न प्रोत्साहन गरिने भनिएको छ, तर यसमा स्पष्टता छैन,’ सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका सीईओ समेत रहेका क्षेत्रीले विकासन्युजसँग भने ।
तर सरकारले कृषि क्षेत्रलाई छुट्याएको बजेट भने कम रहेको उनको भनाई छ ।
त्यस्तै, जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेलले बीमा क्षेत्रको लागि धेरै विषय नसमेटिए पनि समग्र अर्थतन्त्रलाई एड्रेस गर्ने खालको रहेको बताएका छन् । सोमबार सार्वजनिक भएको आगामी आर्थिक वर्षको बजेटमा विकासन्युजलाई प्रतिकृया दिँदै उनले अर्थतन्त्र सुध्रियो भने बीमा क्षेत्र पनि सुध्रिने बताए ।
‘बजेटले दावी भुक्तानीमा शीघ्रता र ग्रामीण क्षेत्रमा पहुँच विस्तारको विषय उठाएको छ, सामाजिक सुरक्षाको कार्यक्रममा स्वास्थ्य बीमालाई जोड गरेको भएर यो बजेटले बीमाको लागि ठिकै गर्छ,’ सिटिजन लाइफका सीईओ समेत रहेका पौडेलले विकासन्युजसँग भने ।
सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. रामशरण महतले सोमबार आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेका हुन् । समग्र क्षेत्रलाई समेटेको उक्त बजेटले बीमा क्षेत्रलाई पनि केही हदसम्म एड्रेस गरेको पाइएको छ ।
बीमा क्षेत्रको लागि के छ बजेटमा ?
सरकारले बीमा दावी प्रकृयालाई सरलीकरण गरी भुक्तानी प्रकृयालाई चुस्त रुपमा अघि बढाउने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै गुणस्तरीय बीमा सेवा विस्तार गर्नुकासाथै दावी भुक्तानीलाई चुस्त रुपमा अघि बढाउने बताएका हुन् ।
त्यस्तै, सरकारले बीमा क्षेत्रको नियमन तथा सुपरीवेक्षणलाई सुदृढ र प्रभावकारी बनाउने भएको छ ।
बजेटमा ग्रामीण तथा दुर्गम क्षेत्रमा बीमा कम्पनीको शाखा स्थापना गर्न प्रोत्साहन गरिने छ, बीमा प्राधिकरण, स्थानीय तह लगायत सरोकारवालाहरुसँगको सहकार्यमा दुर्गम तथा ग्रामीण क्षेत्रमा बीमा सम्बन्धी साक्षरता अभिवृद्धि गरिने भनिएको छ ।
त्यसैगरी, सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरि दीगो गर्ने भएको छ । सरकारी, सामुदायिक र सहकारी अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वास्थ्य बीमा सम्बन्धी सामाजिक कार्यक्रम र स्वास्थ्य बीमाबीच दोहोरो नहुने गरी चालु आवभित्रै कार्यविधि तर्जुमा गरिने छ । सामाजिक सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमाको दायरामा ल्याइने बजेटमा उल्लेख छ ।