बीमा कम्पनी र गाउँपालिकाबीच भएको सम्झौता आगामी २०८१ जेठ १५ गतेसम्म लागू हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिए । सम्झौताअनुसार गाउँपालिकावासी सबै नागरिकले अब दुर्घटनाबाट सिर्जित मृत्यु, स्थायी पूर्ण अशक्तता, स्थायी आंशिक अशक्तता, अङ्गभङ्ग, औषधोपचार आदि सुविधा प्राप्त गर्नेछन् । बीमाका शर्तहरू सामूहिक दुर्घटना बीमालेखबमोजिमको हुने पनि सम्झौतापत्रमा उल्लेख छ । सम्झौताअनुसार दुर्घटनामा परेका बिमितको उपचार खर्च बीमालेखको अधिनमा रही सक्कली बिल बुझाएपछि प्राप्त गर्नेछन् । सम्झौतापत्रमा गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जरा (अक्कल) र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुवास कोइरालाले हस्ताक्षर गर्नुभएको छ ।
गोरखाका ११ स्थानीय तहलाई चार अर्ब ५८ करोड ३७ लाख
गोरखा जिल्लाभित्र रहेका स्थानीय तहलाई सङ्घीय सरकारबाट आगामी आर्थिक वर्षका लागि सङ्घीय सरकारबाट रु साढे चार अर्बभन्दा बढी बजेट विनियोजन भएको छ । सङ्घीय सरकारले आगामी आव २०८०/८१ का लागि सोमबार बाँडफाँट गरेको बजेटमा जिल्लाभित्रका ११ स्थानीय तहलाई कुल रु चार अर्ब ५८ करोड ३७ लाख समपूरक बजेट विनियोजना भएको हो ।
दुई नगरपालिका र नौ गाउँपालिका रहेको गोरखामा सबैभन्दा धेरै गोरखा नगरपालिकालाई कुल ६१ करोड ८१ लाख रुपैयाँ र पालुङटार नगरपालिकालाई ५७ करोड दुई लाख रुपैयाँ विनियोजना भएको छ भने जिल्लामा सबैभन्दा कम चुमनुब्री गाउँपालिकालाई २० करोड ७७ लाख रुपैयाँ बजेट विनियोजन भएको हो ।
त्यस्तै जिल्लाको आरुघाट गाउँपालिकालाई ४० करोड ४२ लाख रुपैयाँ, गण्डकी गाउँपालिकालाई ४४ करोड ६८ लाख रुपैयाँ, अजिरकोट गाउँपालिकालाई ३१ करोड ६८ लाख रुपैयाँ र धार्चे गाउँपालिकालाई ३१ करोड २१ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
शहिद लखन गाउँपालिकालाई ४३ करोड २० लाख रुपैयाँ, भीमसेन थापा गाउँपालिकालाई ४० करोड १० लाख रुपैयाँ, बारपाक सुलिकोट गाउँपालिकालाई ४० करोड ५९ लाख रुपैयाँ र सिरानचोक गाउँपालिकालाई ४६ करोड ८९ लाख रुपैयाँ रकम सङ्घीय सरकारले विनियोजन गरेको हो । रासस