काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्ति छिरेको आशंका गरेका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको ‘पोष्ट बजेट- अ होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै डा. खतिवडाले गत वर्षजस्तै यो वर्ष पनि बजेट बनाउँदा मुसा र अनधिकृत व्यक्ति छिरेको आशंका गरेका हुन् ।
‘बजेट निर्माणमा फेरि पनि मुसा र अनधिकृत मान्छे झिरे रे भन्ने सुनेको छु, यस्ता कुरा फेरि पनि भयो भने राम्रो हुँदैन,’ उनले भने ।
आगामी आर्थिक वर्षको बजेट कमजोर जगमा बनेको बताउँदै उनले कसैलाई खुशी पार्न नसक्ने बजेट आलोचित हुने बताए । यसमा निजी क्षेत्र कति सन्तुष्ट छन् ? बजेट सरोकारवालाले कसरी लिएका छन् भन्ने महत्वपूर्ण विषय रहेको उनको भनाई छ ।
पूर्वअर्थमन्त्री डा. खतिवडाले चालू खर्च धान्न बाह्य ऋण लिनु पर्ने बेला आएको बताए । ‘खोप किन्न पनि ऋण लिनुपर्ने अवस्था छ, ऋण लिएर अनुदान बाँडिएको छ, ऋण लिएर त्यसको सदुपयोग भयो कि भएन भनेर मूल्यांकन गर्नु पर्छ,’ उनले भने ।
त्यस्तै, सस्तो लोकप्रियताको लागि मात्रै अर्थमन्त्री हुनु नहुने र अहिले गाली खाएपनि पछि वाहीवाही पाइने पूर्वअर्थमन्त्री डा. खतिवडा बताउँछन् ।
कार्यक्रममा बोल्दै डा. खतिवडाले राष्ट्रिय स्वतन्त्रता पाटी (रास्वपा)का नेता तथा प्रतिनिधिसभा सदस्य डा.स्वर्णिम वाग्लेलाई बाहिर बोल्दा र भित्र खेल्दा कति फरक हुन्छ भन्ने विषय अब थाहा पाइने समेत बताए ।
पोष्ट बजेट छलफलमा बोल्दै खतिवडाले बजेट फल्स ग्राउण्ड बनेको आरोप लगाएका हुन् । उनले भने ‘फल्स ग्राउण्ड भनेको कमजोर धरातल हो, सुन्दा त राम्रो सुनिन्छ, तर आर्थिक ऐनको पाना पल्टाउँदै जादा यसको असर देखिँदै जान्छ ।’
बजेटको आकार गत वर्षको तुलनामा कम भयो भन्ने विषयमा सत्यता छैन। पहिलेको तुलनामा आकार घटे पनि वास्तविक खर्चको तुलनामा बढेको देखिएको खतिवडाको भनाई छ । पूर्व अर्थमन्त्री खतिवडाले थपे ‘मैले एउटा कुरा भन्ने गरेको छु, खाना खादा मिठो हुनुपर्छ, ताकी पकाएको हेर्दा राम्रो भएर हुँदैन ।’
खतिवडाले आफू अर्थमन्त्री रहँदा संघियता कार्यान्यवयनमा ठूलो खर्च भएकोले बजेटको आकार बढाउनु परेको बताए । चालु खर्च टार्न आन्तरिक ऋण उठाउने अवस्था आइसकेको छ। खतिवडाले भने ‘खोप किन्न पनि ऋण लिनु परेको छ । तर हामीले ऋण लिएर अनुदान बाड्ने ठाउमा छौं। ऋण सहि ठाउँमा लगानी भयो कि भएन सो कुरा हर्न जरुरी छ ।’
अर्थमन्त्रीले गाली खान तयार हुनुपर्ने खतिवडाले बताए । मन्त्रीले सुरुमा गाली खाने हिम्मत गर्नुपर्ने र दीर्घकालमा नतिजा हेरेर सन्तोष लिनुपर्ने खतिवडाको भनाई छ । पुँजीगत खर्च महालेखाको तथ्यांकमा भएको मात्रै होइन। चालु खर्चका अधिकांस खर्चहरु पुजिगतमै पर्ने गरेको छ । सामाजिक सुरक्षामा दक्षिण एशियामै धेरै राम्रो पोजिसनमा रहेकोले सरकारले केहि गर्नै सकेन भनेर भन्न नहुने खतिवडाको भनाई छ।
पूर्वमन्त्री खतिवडाले थपे ‘मेरो पालामा गन्द्रुकमा पनि कर लगायो भन्ने आरोप लगायो, अहिले आलु र प्याजमा पनि कर लगाइएको छ यसको पनि नतिजा भोग्न मन्त्रीज्यू तयार रहनु होला ।’
६ अंकको आर्थिक वृद्धिको लक्ष्य भेट्न कठिन नहुने खतिवडाको भनाई छ। यसको लागि उद्योगीलाई चालपुँजी कर्जा बढाउँनु पर्छ । तर आन्तरिक ऋण बढाएर ब्याजदर घटाउ भन्ने अर्थ मन्त्रालयको कुरामा तालमेल नभएको खतिवडाको भनाई छ ।