बजेटमा अनधिकृत व्यक्ति छिराएको छैन, देशको फाइदाका लागि कर हेरफेर भएको हो : अर्थमन्त्री

<p>काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले बजेट निर्माणमा अनधिकृत व्यक्ति नछिराएको स्पष्ट पारेका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको ‘पोष्ट बजेट-अ होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै बजेटमा अनधिकृत व्यक्ति प्रवेश गरेको हल्ला सत्य नभएको स्पष्ट पार्दै अर्थमन्त्री डा. महतले यस्ता कुरामा अनावश्यक हो-हल्ला गर्न नहुने बताएका हुन् । &#8216;मैले कोही [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले बजेट निर्माणमा अनधिकृत व्यक्ति नछिराएको स्पष्ट पारेका छन् ।

इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको ‘पोष्ट बजेट-अ होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै बजेटमा अनधिकृत व्यक्ति प्रवेश गरेको हल्ला सत्य नभएको स्पष्ट पार्दै अर्थमन्त्री डा. महतले यस्ता कुरामा अनावश्यक हो-हल्ला गर्न नहुने बताएका हुन् ।

‘मैले कोही आएपनि नआउनु भनेको थिएँ, मन्त्री दुई, सचिव, आन्तरिक राजश्व विभाग प्रमुख, भन्सार प्रमुख र दुई उपसचिव मात्रै छन्, अरु कोही छिरेका छैनन्,’ उनले प्रष्ट पार्दै भने- ‘केही नपाएर हिलो छ्यापे, यस्तै हो भने इमान्दार मान्छेले यो देशमा काम गर्नु पर्दैन ।’

साथै, उनले आफूले बजेटमा अर्थतन्त्रलाई फाइदा दिने काम गरेको बताउँदै फाइदा उठाउन नपाएकाहरु रिसाएका हुन सक्ने बताएका छन् ।

‘बजेटको सकारात्मक पक्षहरु हाइलाइट भएनन्, संसदीय विकास कोष नभई संसदीय पुर्वाधार विकास कार्यक्रम हो, यसको ठेक्का सम्बन्धित मन्त्रालयले गर्छ, सांसदको काम सिफारिस मात्रै गर्ने हो र यो पुँजीगत खर्च नै हो,’ उनले स्पष्ट पारे ।

साथै, बजेट बिनियोजन गर्दा पनि प्रश्न उठाउने हो भने निर्वाचन प्रणालीमाथि पनि प्रश्न उठाउँदा हुने उनको भनाई छ । बजेटको आकार चालू आवका भन्दा कम रहेको बताउँदै उनी राजश्वको लक्ष्य हासिल गर्न सक्नेमा आफू विश्वस्त रहेको बताए ।

‘बजारमा भइरहेका हल्ला अस्वीकार गर्छु, एक लयमा काम गर्न सकियो भने बजेटको लक्ष्य हासिल गर्न सकिन्छ,’ उनले भने ।

‘निजी क्षेत्रको माग स्वदेशी वस्तुलाई बढी प्राथमिकता दिने सुझाव आएपछि हामीले एक तहको प्रोटेक्शन दिने विषय ल्याएका हौं । एउटा क्षेत्रले सहुलियत पाउँदा अर्को पक्कै मर्कामा पर्छ, करमा गरेको हेरफेरलाई सम्बन्धित क्षेत्रले गरेको टिकाटिप्पणी गर्नु स्वभाविक हो, भ्याट लगाएका क्षेत्रमा सोचविचार गरेर नीति बनाइएको हो,’ थप प्रष्टाउँदै उनले भने ।

Share News