काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियममा आईपीओ निष्काशन गरेपछि सजिलै २५ प्रतिशत बोनस सेयर दिन सक्ने देखिएको छ । इन्स्योरेन्सले न्युनतम चुक्ता पुँजी ५ अर्ब पुर्याउन आईपीओ पछि बोनस सेयर वितरण गर्ने भएको हो ।
कम्पनीले आगामी असार एक गतेदेखि वैदेशिक रोजगारमा गएका नेपाली र असार २० गतेदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि आइपिओ निष्काशन गर्दैछ । सर्वसाधारण समुहको एक करोड २० लाख कित्तामध्ये ६ लाख कित्ता कर्मचारीहरुलाई आधार मूल्यमै बिक्री गर्नेछ । बाँकी एक करोड १४ लाख कित्ता सेयर प्रति कित्ता २३६.९१ रुपैयाँको दरमा निष्काशन गर्नेछ । प्रिमियम मूल्य १३६.९१ रुपैयाँको दरले एक करोड १४ लाख कित्ता सेयर बिक्री गर्दा एक अर्ब ५६ करोड रुपैयाँ प्रिमियम आर्जन गर्नेछ ।
तर आयकर ऐनले विगतमा प्रिमियममा सेयर निष्काशन गरेका बीमा कम्पनीहरुलाई समेत अहिले आएर कर भुक्तानी गर्न निर्देशन दिइरहेको सन्दर्भमा आइएमई लाइफले पनि उक्त प्रिमियम रकमबाट २५ प्रतिशत कर तिर्नु पर्नेछ । यदि कर भुक्तानी गर्नु परेको खण्डमा कम्पनीले राज्यलाई प्रिमियमबाट आर्जित रकमबाट झण्डै ३९ करोड रुपैयाँ तिर्नु पर्छ । त्यसपछि कम्पनीसँग लाभांश वितरण योग्य प्रिमियम रकम एक अर्ब १७ करोड हुने कम्पनीले बताएको छ ।
आईपीओ निष्काशन पछि इन्स्योरेन्सको चुक्ता पूँजी ४ अर्ब कायम हुनेछ । नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी ५ अर्ब जुटाउन एक अर्ब आवश्यक पर्नेछ । यसका लागि कम्पनीले कम्तिमा पनि २५ प्रतिशत बोनस सेयर वितरण गर्नै पर्नेछ । अपरिष्कृत वित्तीय विवरण अनुसार जगेडा कोषमा थप एक अर्बभन्दा माथि रकम रहेको छ । इन्स्योरेन्सका अनुसार प्रिमियम र जगेडा कोषमा रहेको रकम एक अर्ब नाघ्ने भएकाले यस वर्ष २५ प्रतिशत बोनस सेयर र आगामी वर्षमा लगानीकर्ताहरुलाई निश्चित प्रतिशत बोनस सेयर नियमित रुपमा वितरण गर्न सक्ने क्षमता बनाउनेछ ।
प्राथमिक बजारबाट २३६.९१ रुपैयाँको दरमा सेयर खरिद गर्नेले पहिलो वर्षमै २५ प्रतिशत प्रतिफल पाउन सक्ने छन् । प्राथमिक बजारबाट शेयर खरिद गर्नेहरुले समेत प्राप्त बोनस सेयर दोस्रो बजारमा बिक्री गरेर आफ्नो लगानीलाई सजिलै उठाउने छन् । मानौ कुनै सेयरधनीले प्राथमिक बजारबाट १०० कित्ता सेयर खरिद गर्यो । उसको प्राथमिक लगानी २३ हजार ६११ रुपैयाँ पर्न जान्छ । ५ अर्ब रूपैयाँ पुँजी पुर्याउने क्रममा कम्पनीले पहिलो वर्ष २५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्न सक्ने विश्लेषण पुँजी बजारमा हुन थालेको छ ।
अहिलेको अवस्थामा पनि दोस्रो बजारमा जीवन बीमा कम्पनीको सेयर मूल्य कम्तिमा पनि ४७४ रुपैयाँ रहेको छ । मानौ प्राथमिक सेयरधनीले कम्तिमा पनि प्रतिकित्ता ४५० रुपैयाँको दरले प्राप्त भएको २५ कित्ता बोनस सेयर बिक्री गर्यो । यसबाट उसले ११ हजार २५० रुपैयाँ प्राप्त गर्छ । बोनस सेयर बिक्री भएपछि प्राथमिक सेयरधनीको लागत १२ हजार ३६१ रुपैयाँमा झर्छ । यदि भोलिका दिनमा बढ्दो बजारमा सेयर बिक्री गर्न सकियो भने लगानीकर्ताले प्राथमिक बजारमा गरेको लगानीलाई सजिलै उठाउन सक्ने देखिन्छ । त्यसमा पनि २५ प्रतिशत बोनस सेयर दिने भएपछि कम्पनीको सेयर मूल्य दोस्रो बजारमा राम्रै अवस्थामा रहने बजार विश्लेषण छ ।