काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले असार १९ गते एकैदिन दुबै जीवन बीमा कम्पनीलाई आईपीओ जारी गर्न अनुमति दिएको हो ।
दुई कम्पनीमध्ये सिटिजन लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी अर्थात २ अर्ब ६६ करोड ४० लाख रुपैयाँ बराबरको सेयर जारी गर्न लागेको हो । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा थप १४४ प्रिमियममा (अर्थात प्रतिकित्ता २४४ रुपैयाँमा) एक करोड १२ लाख ५० हजार कित्ता सेयर जारी गर्ने भएको छ । जसमध्ये ५ लाख ६२ हजार ५०० कित्ता सेयर कम्पनीको कर्मचारीलाई छुट्याइएको छ । इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ ।
त्यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्सले २ अर्ब २२ करोड ७६ लाख ८० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न अनुमति पाएको छ । बोर्डले इन्स्योरेन्सलाई अंकित मूल्य एक सय रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थपेर सेयर बिक्री गर्न अनुमति दिएको हो । यससँगै कम्पनीले प्रतिकित्ता २३९ रुपैयाँमा ९६ लाख कित्ता सेयर निष्काशन गर्ने छ ।
कूल कित्तामध्ये सन नेपालले ४ लाख ८० हजार कित्ता सेयर कर्मचारीलाई छुट्याएको छ । त्यस्तै, इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग रहेको छ ।
सिटिजन लाइफको तुलनामा सन नेपाल लाइफको आईपीओ सस्तो देखिएको छ । सन नेपालको आईपीओ प्रतिकित्ता ५ रुपैयाँले सस्तो छ ।