एमालेको आर्थिक बहस : विपक्षीमाथि आरोपै आरोप, निजी क्षेत्रको पनि हातेमालो

<p>काठमाडौं । बुधबार नेकपा एमालेले वर्तमान आर्थिक अवस्था : समस्या र समाधान विषयक छलफल कार्यक्रमको आयोजना गर्यो । उद्योगी व्यवसायी तथा विभिन्न अर्थविदहरुले अर्थतन्त्रमा समस्या आएको र निकट भविश्यमै ठूलो संकट आउन सक्ने धारणा दिइरहेका बेला एमालेले आयोजना गरेको यो कार्यक्रम र कार्यक्रमको विषयवस्तु निकै प्रभावकारी हुने अपेक्षा धेरैको थियो । संसदको प्रमुख प्रतिपक्ष दलले [&hellip;]</p>

काठमाडौं । बुधबार नेकपा एमालेले वर्तमान आर्थिक अवस्था : समस्या र समाधान विषयक छलफल कार्यक्रमको आयोजना गर्यो । उद्योगी व्यवसायी तथा विभिन्न अर्थविदहरुले अर्थतन्त्रमा समस्या आएको र निकट भविश्यमै ठूलो संकट आउन सक्ने धारणा दिइरहेका बेला एमालेले आयोजना गरेको यो कार्यक्रम र कार्यक्रमको विषयवस्तु निकै प्रभावकारी हुने अपेक्षा धेरैको थियो । संसदको प्रमुख प्रतिपक्ष दलले आयोजना गरेको यो कार्यक्रम उद्योगी व्यवसायी, अर्थविद्, सञ्चार माध्यम र सर्वसाधारणले पनि निकै चासोका साथ प्राथमिकता दिएका थिए । त्यसको संकेत कार्यक्रममा भएको उपस्थितीले पनि देखाएको थियो ।

तर, जसरी र जुन अपेक्षाका साथ सहभागीहरुको उपस्थिती कार्यक्रममा थियो त्यसको नतिजा, त्यो कार्यक्रमको फल र उद्धेश्य सहभागी जोकोहीले पनि प्रष्ट बुझे होलान् । अर्थतन्त्र समस्यामा गएको बताइरहने उद्योगी व्यवसायीले पनि यो कार्यक्रमबाट पक्कै पनि समाधानको बाटो निस्कन्छ भन्ने अपेक्षामा थिए होलान् । तर, तिनै उद्योगी व्यवसायीहरुले पनि एमालेकै भाषामा भाषण गरे । र, रात्रीभोज गरेर घर फर्किए ।

कार्यक्रमको सुरुमा पार्टीको उद्योग वाणिज्य तथा आपुर्ति विभागका प्रमुख मोतिलाल दुगडले करिब आधा घण्टा भाषण गरेर सहभागीलाई खिन्न बनाए । देशको परिचित उद्योगी समेत रहेका उनलाई कार्यक्रम सञ्चालकले स्वागत मन्तव्यका लागि बोलाएकी थिइन् । तर, उनले स्वागत मन्तव्यका नाममा आधा घण्टा भाषण गरेर सरकार तथा विपक्षी दलको विरोध गरेर समय खरे फाले ।

उनले वर्तमान सरकार काण्डै काण्डको सरकार भएको बताउँदै यो सरकारले व्यवसायीमैत्री नीतिभन्दा पनि कसलाई कसरी फसाउने भनेर रणनीति बनाइरहेको आरोप लगाए । उनले विपक्षीको विरोध गर्दै केपी शर्मा ओली नेतृत्वको सरकारकाे पालामा धेरै काम भएको र निजी क्षेत्रले पनि त्यो अनुभुती गरेको धारणा राखे ।

‘उद्योगी व्यवसायीलाई दण्डित गरेर देश चल्दैन, सरकार निरंकुशता ल्याउन खोजिरहेको छ, मन्दीको समयमै व्यवसायीको मनोबल गिराउने काम भएको छ, उद्योगी समेत भएका उनीबाट निकासको बाटो खोजिरहेका व्यवसायीलाई इंकित गर्दै भने अब यो सरकारको विश्वास नगर्नुस्, एमालेलाई साथ दिनुस्, अब अति भयो, यो देशलाई क्षति भयो ।’

यस्तै, कार्यक्रमको प्रमुख अतिथिका रुपमा उपस्थित थिए एमाले अध्यक्ष केपी शर्मा ओली । उनले आफुलाई अन्तै कतै जानु पर्ने भन्दै अगाडि नै समय सारे । उनले दुगडपछि बोल्दै वर्तमान सुन काण्डदेखि अर्थतन्त्र समस्यामा जानुको दोष सरकारमाथि थुपारे ।

उनी सरकारमाथि मात्रै होइन बैंकहरुमाथि पनि खनिए । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भाषा बोल्दै उनले बैंकहरु साहु बन्न नहुने र धेरै नाफा गर्न नहुने तर्क दिए । उनले वर्तमान अर्थतन्त्र सुधारका लागि सरकारले कुनै तयारी नगरेको बताउँदै सरकार ‘फेलर’ बनेको धारणा राखे ।

‘अर्थतन्त्रमा संकट छ तर माथि उठ्ने र अगाडि बढ्ने कुनै तयारी छैन, सरकारको व्यवस्थापन कमजोर बन्यो, सरकार ऋणमा डुब्यो, आसेपासेसलाई पोस्नमै सरकार व्यस्त छ,’ उनले आरोप लगाउँदै प्रश्न गरे, ‘१०० किलो सुन कसरी ६० किलोमा झर्यो ?’

नेपालमा राम्रो व्यवस्थापन र तयारी गर्न नसक्दा भोकमरी आउन सक्ने भविश्यवाणी गरे । ‘व्यवसायिक वातावरण निर्माण गर्न सकिएन भने नेपालमा भोकमरी हुन सक्छ । आधारभुत आवश्यकता पाउनै मुस्किल हुन सक्छ । निजी क्षेत्रमा धेरै सम्भावना छ तर, अनुकलता प्रदान गरिएन’, ओलीले भने । ३५ मिनेट भाषण गरेका ओलीले आफ्नो अधिकांश समय समस्याको समस्या बाटो देखाउनेभन्दा पनि सरकारको आलोचनामै बिताए ।

निजी क्षेत्रको पनि काँध

एमालेले आयोजना गरेको कार्यक्रममा निजी क्षेत्रका विभिन्न उद्योगी व्यवसायीहरुको पनि बाक्लो उपस्थिति थियो । निजी क्षेत्रका छाता संस्थाहरुका प्रमुखहरुसँगै एमाले पार्टीसँग निकट उद्योगी व्यवसायीकाे पनि कार्यक्रममा सहभागिता थियो ।

निजी क्षेत्रको तर्फबाट सुरुमा बोलिन् नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा । उनले पनि एमालेकै भाषा बोल्दै भनिन्, ‘अर्थतन्त्र १० वर्ष यताकै संकटमा छ, सरकारले समस्याको समाधानतर्फ ध्यान दिएन, सरकारकै कारण निजी क्षेत्र समस्यामा पर्यो ।’ उनले पछिल्ला दिनमा सरकारले राजश्वको नाममा आतंक सिर्जना गरेको धारणा पनि राखिन् ।

यस्तै, कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पनि सरकारले समस्या समाधानमा चासो नदिएको गुनासो गरे । उनले एमालेले आर्थिक विषयमा छलफल राखेकोमा खुसी व्यक्त गर्दै अर्थतन्त्र सुधारका लागि एमाले पार्टीलाई आफुहरु साथ दिन तयार रहेको धारणा राखे ।

मल्लपछि बोल्न पोडियमा पुगेका नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले पनि सरकारले ल्याएको बजेट र मौद्रिक नीतिको तालमेल नमिलेको टिप्पणी गरे । उनले आफु पनि एमाले पार्टी निकट भएको संकेत गर्दै पार्टीले महासंघलाई ‘नोटिस’ नगरेको गुनासो गरे ।

‘उद्योगीहरुको मल्हम लगाउनु पर्ने अवस्थामा नुन छर्किने काम भइरहेको छ, देशको जीडीपीमा साना घरेलु उद्योगको महत्वपूर्ण योगदान छ, तर यसको कुनै महत्व दिइँदैन, हामीले उत्पादन नगरे तपाईंहरु सबैले भोकै बस्नु पर्छ,’ सिंहले भने ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बैंकको उच्च ब्याजदरले व्यवसायीलाई समस्या भएको बताए । ‘लिलामीका सूचनाले पत्रपत्रिका भरिभराउ छन् । उद्योगीले आत्महत्या गरिरहेका छन् । सरकारले उद्योगी व्यवसायीलाई निरुत्साहन गर्ने काम गरिरहेको छ’ सरकारले समस्याको समाधान खोजेन,’ उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले भने अर्थतन्त्र पहिलेकोभन्दा केही सहज हुँदै आएको बताए । सरकारले व्यवसायिक वातावरण सिर्जना गर्नमा ध्यान दिनु पर्ने उनको भनाइ थियो ।

समस्या सुनाएर हिंडे खतिवडा

अध्यक्ष ओलीले सुरुमै बोलेर कार्यक्रमबाट विदा भएपछि उनले आफ्नो उत्तराधिकारी युवराज खतिवडा भएको र कार्यक्रमको बाँकी जिम्मेवारी उनलाई दिएको जानकारी सञ्चालकमार्फत् गराए । कार्यक्रमको अन्त्यमा बोल्दै डा. युवाराज खतिवडाले पनि समस्याको फेहरिस्थ सुनाए । पूर्व अर्थमन्त्री र गभर्नर समेत भइसकेका उनले वर्तमान समस्याको फेहरिस्थ सुनाउन १६ मिनेट लगाए ।
कार्यक्रम अवधिभर समस्याको चाङ सुनेका सहभागीहरुले खतिवडाले केही समाधानको बाटो देखाउँछन् भन्ने अपेक्षा गरेका थिए । तर, उनले पनि समस्यामाथि समस्या नै थुपारे ।

उनले पछिल्लो समय कालोधन्दा बढेको बताउँदै यसले राजश्व संकलनमा ठूलो असर गरेको र त्यो धन्दा रोक्न सरकार असफल भएको धारणा राखे ।

‘आर्थिक विकास नभएपछि व्यापार घट्छ नै । व्यापार घट्नु भनेको आर्थिक मन्दी हुनु हो । ब्याजदर पनि बढी छ’, खतिवडाले भने, ‘सबैभन्दा ठूलो मुद्दा भनेको व्यवसायीको विश्वास र सुरक्षाको हो ।’

उनले राष्ट्र बैंकको काम कारवाहीमाथि पनि प्रश्न गरेका थिए । ‘राष्ट्र बैंक रियाक्टिभ होइन प्रोएक्टिभ हुने हो । अनुत्पादक क्षेत्रमा कर्जा रोक्नु पर्छ । सेयर बजारमा बढी कर्जा जानू हुँदैन । सेयर बजार धितोपत्र बोर्डको कन्सर्नको विषय हो राष्ट्र बैंकको होइन’, खतिवडाले भने ।

चालु आर्थिक वर्षमा बजेटले लिएको लक्ष्य अनुसारको आर्थिक वृद्धि हुन चुनौति नै रहेको उनले बताए । यस्तै, उनले नेपालमा सुन तस्करी बढेको कारण नेपाल भारत सीमावर्ति क्षेत्रमा भारतीय रुपैयाँको मूल्य सस्तो भएको पनि तर्क सुनाए ।

Share News