काठमाडौं । साधना लघुवित्त र सबैको लघुवित्तबीच एक आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । दुवै संस्थाबीच शुक्रबार मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
मर्जरपछि बन्ने लघुवित्त वित्तीय संस्थाको नाम सबैको साधना लघुवित्त वित्तीय संस्था रहने सहमति भएको छ । उक्त सम्झौतामा साधना लघुवित्तको तर्फबाट अध्यक्ष कृष्ण बहादुर थापा र सबैको लघुवित्तको तर्फबाट अध्यक्ष नारायण प्रसाद जोशीले हस्ताक्षर गरेका थिए । त्यस्तै सञ्चालक समिति अध्यक्षमा हालको साधना लघुवित्तका अध्यक्षकृष्ण बहादुर थापा र प्रमुख कार्यकारी अधिकृतमा सबैको लघुवित्तका केशब कुमार पौडेल रहने सहमति भएको संस्थाले जनाएकाे छ ।
तनहुँ जिल्लाको बन्दिपुर १, डुम्रे स्थित केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था सबैको लघुवित्तको चुक्ता पूँजी ३१ करोड ८६ लाख रुपैयाँ रहेको छ । त्यस्तै, गोरखा जिल्ला गोरखा नगरपालिका वडा नं. ६ हरमटारी स्थित केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था साधना लघुवित्तको चुक्ता पूँजी ३८ करोड २२ लाख ५८ हजार ३ सय ४५ रुपैयाँ रहेको छ ।