संकटमा परेको गतिशील सहकारीसँग १० जिल्लाको ९२ ठाउँमा जग्गा, सञ्चालकहरु नै अवैध !

काठमाडौं । बचतकर्तालाई बचत फिर्ता गर्न नसकेर समस्यामा परेको गतिशील बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको रकमलाई दुरुपयोग गरेर घरजग्गामा लगानी गरेको देखिएको छ । सहकारीले बचतकर्ताको रकमलाई विभिन्न जिल्लामा घरजग्गा किनेको देखिएको हो । संस्थाले हालै मात्र सार्वजनिक गरेको श्वेतपत्रमा उल्लेख भएअनुसार विभिन्न १० जिल्लाको ९२ वटा ठाउँमा सहकारीको जग्गा देखिएको छ ।

श्वेतपत्रमा संस्थाको वित्तीय विवरण भने सार्वजनिक गरेको छ । सहकारी विभागले प्रत्येक महिना वित्तीय विवरण सार्वजनिक गर्न निर्देशन दिएपनि गतिशिल सहकारीले भने २०७९ को असार यता कुनै तथ्यांक सार्वजनिक गरेको छैन ।

श्वेतपत्रमा सहकारीको सम्पत्ति मात्रै उल्लेख छ । श्वेतपत्रमा काठमाडौंमा दुई ठाउँमा, ललितपुर २० ठाउँमा, काभ्रेमा ५३ ठाउँमा, चितवन तीन ठाउँमा र मकवानपुर एक ठाउँमा जग्गा रहेको उल्लेख छ । सहकारीको बारा चार ठाउँमा, पर्साको दुई ठाउँमा, सर्लाही एक ठाउँमा, रौतहट एक ठाउँमा र झापाको चार ठाउँमा जग्गा रहेको देखिएको छ ।

सहकारीले ती जग्गाको मूल्यांकन भने सार्वजनिक गरेको छैन । श्वेतपत्रमा सहकारीले फिर्ता गर्नु पर्ने निक्षेपको परिमाण पनि राखेको छैन । यस विषयमा बुझ्न खोज्दा सहकारीका पदाधिकारीहरुसँग सम्पर्क हुन सकेन ।

सहकारीका एक बचतकर्ताले आफुहरुले विगत एक वर्षदेखि सावाँ ब्याज फिर्ता पाउन नसकेको बताए । उनका अनुसार सहकारीले नियमित कार्यालय खोल्ने भएपनि बचतकर्तालाई पैसा नभएको भन्दै फिर्ता पठाउने गरेको छ ।

गत असारसम्मको तथ्यांक अनुसार यस सहकारीको कुल सेयर पुँजी ९ करोड २८ लाख ४४ हजार रुपैयाँ छ । संस्थाको कुल पुँजी भने १८ करोड ४४ लाख ९३ हजार रहेको देखिएको छ ।

[pdf id=434031]

संस्थाको कुल पुँजी तथा दायित्व भने २ अर्ब ७६ करोड ४ लाख ९ हजार रुपैयाँ छ । संस्थामा बचतकर्ताको कुल २ अर्ब २६ करोड ५७ लाख ३ हजार रुपैयाँ निक्षेप छ । गत आर्थिक वर्षको असार मसान्तसम्म सहकारीले सवा २ अर्ब रुपैयाँ लगानी गरेको छ ।

ग्त वर्षको असार मसान्तसम्मको तथ्यांक अनुसार सहकारीमा ५.८३ प्रतिशत मात्रै तरलता अनुपात छ । तर, त्यो अहिले घटेको छ । यो सहकारीले अधिकांश लगानी व्यापारमा गरेको देखिएको छ । सहकारीले व्यापारिक कर्जामा १ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ लगानी गरेको छ भने गाडीमा ६८ लाख ५८ हजार, मुद्दति रसिद धितो कर्जामा ३ करोड ५१ लाख २ हजार र कर्मचारीलाई ७ लाख ८ हजार रुपैयाँ कर्जा लगानी गरेको प्रतिवदेनले देखाउँछ ।

सञ्चालक समिति नै अवैध ! 

गतिशील सहकारी संस्थाको कार्यसमिति नै अवैध रहेको शंका पनि गरिएको छ । सो सहकारीको सञ्चालक समितिमा हाल रहेका पदाधिकारीहरु कुनै साधारणसभा नगरेर राखिएको बुझिएको छ ।

पूर्व अध्यक्ष बलराम पाठकले अध्यक्ष को जिम्मेवारी छाडेपछि उनले उपाध्यक्ष विकास कुमार थापालाई कार्य वाहक अध्यक्षको जिम्मेवारी दिएका थिए । उनले कार्यवाहक अध्यक्ष हुँदै हाल पूर्ण रुपमा अध्यक्षको जिम्मेवारीमा काम गरिरहेका छन् ।

थापाको नेतृत्वमा हाल उपाध्यक्षमा खे नेपाल, कोषाध्यक्षमा राजेशकुमार हुमागाईं, सचिवमा सौगात प्रसाद दाहाल, सदस्यमा राधा श्रेष्ठ र विनय आमात्य छन् । यो कार्यसमिति साधारणसभा नै नगरेर गठन गरिएको बुझिएको छ ।

बागमती प्रदेशको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयलयले पनि नयाँ कार्य समितिको तथ्यांक मन्त्रालयमा नरहेको बताएको छ । मन्त्रालयले यसअघिका अध्यक्ष बलराम पाठकको नेतृत्वको समितिको मात्रै मन्त्रालयमा रेकर्ड रहेको बताएको छ । पाठक नेतृत्वको समितिको उपाध्यक्षमा विकास थापा, सचिवमा रामशंकर श्रेष्ठ, कोषाध्यक्षमा शोभा शाक्य र सदस्यमा पुष्पराज शाक्य थिए ।

सम्बन्धित सामग्री : गतिशील सहकारीले बचतकर्ताको ५ हजार पनि फिर्ता गर्न सकेन, ८६ रोपनी जग्गा बेच्दै

गतिशील सहकारीलाई संकटग्रस्त घोषणा गर्न माग, बचतकर्ताले एक वर्षदेखि पाएनन् पैसा

सहकारी डुबाएर सरकारी बैंकको अध्यक्ष, स्वामित्व बिनै नेतृत्वको लाभ

Share News