सर्वदलीय बैठकमा प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न

कुन नेताले के भने ?

काठमाडौं । सुनसरीमा भएको हिंसात्मक घटनापछि विकसित परिस्थितिबारे छलफल गर्न सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा सरकारको कार्यशैली, प्रधानमन्त्रीको नेतृत्व र संकट व्यवस्थापनको भूमिकामाथि प्रमुख राजनीतिक दलहरूले प्रश्न उठाएका छन् । यद्यपि, सबै दलले घटनाको निष्पक्ष छानबिन, सामाजिक सद्भावको संरक्षण र राजनीतिक संवादलाई प्राथमिकता दिनुपर्नेमा साझा प्रतिबद्धता जनाएका छन् । 

बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पहलमा बसेको हो । छलफलमा सहभागी नेताहरूले वर्तमान परिस्थितिमा राजनीतिक दलहरूबीच एकता, संयम र जिम्मेवार अभिव्यक्तिको आवश्यकता औंल्याउँदै कुनै पनि घटनालाई राजनीतिक ध्रुवीकरणभन्दा माथि उठेर समाधान गर्नुपर्ने धारणा राखे । 

बैठकमा प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङ सहभागी नभएको विषयमा उठेको जिज्ञासाको जवाफ दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले दुवै जना आ–आफ्नो सरकारी तथा दलगत जिम्मेवारीमा व्यस्त रहेकाले उपस्थित हुन नसकेको बताए । उनका अनुसार सरकारको प्रतिनिधित्व गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बैठकमा सहभागी भएका थिए ।

लामिछानेले सर्वदलीय बैठक सरकार सञ्चालन गर्ने औपचारिक संयन्त्र नभई समसामयिक राष्ट्रिय घटनाक्रममा राजनीतिक दलबीच साझा धारणा निर्माण गर्ने र सरकारलाई आवश्यक सुझाव दिने उद्देश्यले आयोजना गरिएको स्पष्ट पारे ।

उनले घटनाको सम्पूर्ण सत्यतथ्य सार्वजनिक नहुँदै पूर्वाग्रही निष्कर्षमा पुग्न नहुने उल्लेख गर्दै अहिलेको प्राथमिकता शान्ति, सुव्यवस्था र सामाजिक सद्भाव कायम गर्नु भएको बताए । उनका अनुसार राजनीतिक दलहरूको दायित्व आरोप–प्रत्यारोपमा केन्द्रित हुनु होइन, संवेदनशील अवस्थालाई थप बिग्रिन नदिन सहकार्य गर्नु हो । 

null

गगनको प्रश्न : सरकार कहाँ छ ? 

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संकटका बेला सरकारले अपेक्षित नेतृत्व दिन नसकेको आरोप लगाए । उनका अनुसार यस्तो संवेदनशील परिस्थितिमा प्रधानमन्त्री स्वयंले सर्वदलीय बैठक बोलाएर सबै राजनीतिक दल, राष्ट्रपति, प्रदेश सरकार तथा स्थानीय तहसँग समन्वय गरी साझा पहलको नेतृत्व गर्नुपथ्र्यो । 

उनले सरकारले सुरक्षा कारबाहीमा मात्रै केन्द्रित नभई नागरिकमा विश्वास जगाउने अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताए । सुनसरी घटनाको निष्पक्ष छानबिन अपरिहार्य रहेको उल्लेख गर्दै उनले संसदमार्फत पनि यो विषय उठाइने जानकारी दिए ।

थापाले विपद् र राष्ट्रिय संकटका बेला राजनीतिक दलहरूबीच सहकार्य गर्ने नेपालको राजनीतिक परम्परा स्मरण गराउँदै वर्तमान परिस्थितिमा पनि त्यही संस्कारलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे ।

सरकार अझ जिम्मेवार र संवेदनशील बन्नुपर्छ ः प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले वर्तमान अवस्थालाई अझ गम्भीरतापूर्वक लिएर जिम्मेवार, सक्रिय र संवेदनशील ढंगले काम गर्नुपर्ने आवश्यकता औंल्याए । 

उनले प्रधानमन्त्रीले सबै राजनीतिक दललाई विश्वासमा लिएर संवाद र सहमतिको वातावरण निर्माण गर्नुपर्ने उल्लेख गर्दै सरकारको प्रस्तुति अपेक्षाअनुसार प्रभावकारी देखिन नसकेको टिप्पणी गरे । 

प्रचण्डले बल प्रयोग कुनै पनि समस्याको स्थायी समाधान हुन नसक्ने स्पष्ट पार्दै संवाद, सहमति र राजनीतिक समझदारीमार्फत मात्रै दीर्घकालीन समाधान सम्भव हुने बताए । उनले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने र स्थानीय तहमा सामाजिक सद्भाव कायम राख्न सबै पक्ष संयमित हुनुपर्ने धारणा राखे । 

साथै, संवेदनशील घटनालाई उक्साउन बाह्य तत्वसमेत सक्रिय हुन सक्ने सम्भावनातर्फ सचेत गराउँदै उनले सबै पक्षलाई उच्च सतर्कता अपनाउन आग्रह गरे । 

सर्वदलीय पहलको नेतृत्व प्रधानमन्त्रीले गर्नुपथ्र्यो ः एमाले

नेकपा एमालेका महासचिव शंकर पोखरेल ले सर्वदलीय बैठक सकारात्मक पहल भए पनि त्यसको नेतृत्व प्रधानमन्त्री स्वयंले लिनुपर्ने धारणा व्यक्त गरे । उनले सरकारबाट आवश्यक राजनीतिक पहल अपेक्षाअनुसार हुन नसकेको टिप्पणी गर्दै सुरक्षा निकायको क्षमता, साधन–स्रोत, भीड व्यवस्थापन प्रणाली तथा समग्र सुरक्षा रणनीतिको गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए । 

भविष्यमा यस्ता घटनामा मानवीय क्षति दोहोरिन नदिन सुरक्षा संयन्त्रलाई थप सक्षम र स्रोतसम्पन्न बनाउनुपर्ने उल्लेख गर्दै उनले सामाजिक तथा साम्प्रदायिक सद्भाव जोगाउन राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा र सबै सरोकारवालालाई संयम अपनाउन आग्रह गरे । 

बैठकमा सहभागी राजनीतिक दलहरूले सुनसरी घटनाको निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेका छन् । 

साथै, सामाजिक सद्भाव, शान्ति र आपसी विश्वासलाई कमजोर पार्ने कुनै पनि गतिविधिबाट टाढा रहन सबै पक्षलाई आग्रह गर्दै राजनीतिक दलहरूले संयुक्त अपिलसमेत सार्वजनिक गरेका छन् । 
 

Share News