शाखा प्रमुख र अभिकर्ताको सेटिङ : नक्कली कागजात बनाएर कर्जा स्वीकृत

<p>काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी नेपाल)को विरगञ्ज शाखा कार्यालयमा कार्यरत बिपिन कुमार साह ५ वर्षअघि रौतहटको गौर शाखा प्रमुख भएर सरुवा भए । एलआईसी नेपालमा एक दशकदेखि कार्यरत साहले गौर शाखामा करिब २ वर्ष काम गरे । गौर शाखामा अभिकर्ताको रुपमा विगत १९ वर्षदेखि कार्यरत थिए, सत्येन्द्र पाण्डे । सफल अभिकर्ताका रुपमा चिनिएका पाण्डे [&hellip;]</p>

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी नेपाल)को विरगञ्ज शाखा कार्यालयमा कार्यरत बिपिन कुमार साह ५ वर्षअघि रौतहटको गौर शाखा प्रमुख भएर सरुवा भए । एलआईसी नेपालमा एक दशकदेखि कार्यरत साहले गौर शाखामा करिब २ वर्ष काम गरे ।

गौर शाखामा अभिकर्ताको रुपमा विगत १९ वर्षदेखि कार्यरत थिए, सत्येन्द्र पाण्डे । सफल अभिकर्ताका रुपमा चिनिएका पाण्डे र शाखा प्रबन्धक साहको सम्बन्ध बलियो बन्दै गयो । अभिकर्ता पाण्डे बीमा सम्बन्धि कारोबारका लागि गौर शाखा धाइरहन्थे । कारोबारकै शिलशिलामा अभिकर्ता पाण्डे र शाखा प्रमुख साहको सम्बन्ध थप मजबुत बन्दै गयो ।

उनीहरु एकदमै मिल्ने साथी बने । नातेदार भने होइनन् । दुवै जना एक अर्काको कुरालाई नकार्न सक्दैनथे । आन्तरिक कुराहरु एक आपसमा साटासाट हुन थाले । शाखा प्रमुख साह र अभिकर्ता पाण्डे आफ्नो लक्ष्य पुरा गर्न रातदिन खटेर काम गर्न थाले ।

‘शाखा प्रमुख साहलाई कम्पनीले दिएको विजनेश टार्गेट पुरा गर्न र अभिकर्ता पाण्डेलाई स्कीम अनुसारको कमिसन पाउन पर्ने कडा मेहेनत गर्थे,’ स्रोतले भन्यो, ‘दुवै जनाले आफ्नो लक्ष्य पुरा गर्न ग्राहकको नाममा कर्जा लिने काम गर्न थाले, डकुमेन्टको काम अभिकर्ता पाण्डेले मिलाउँथे भने कम्पनीको सिस्टममा ठिक्क पार्ने काम प्रमुख साहले गर्थे ।’

कम्पनीबाट कर्जा लिएर नयाँ बीमा लेख जारी गर्न थाले । सो अवधिमा ४३ वटा बीमा लेख जारी गरेको कम्पनी स्रोतको भनाइ छ । सो समयमा कम्पनीले ल्याएको करोडपति योजना तिनै अभिकर्ता पाण्डेले जिते । गौर शाखाले गरेको बिजनेसको प्रगति देखेर कम्पनीलाई पनि आशंका नलागेको होइन ।

सोही आशंकाले २ वर्षपछि प्रमुख साहको सरुवा तौलिहवा शाखामा भयो । अब दुई मिल्ने साथी साह र पाण्डेबीचको सम्बन्धमा दरार आउन थाल्यो । गौर शाखामा नेतृत्व गरेका साहले तौलिहवा शाखामा राम्रो पफर्मेन्स देखाउन सकेनन् । कर्जा नलिएका बीमितहरु समस्यामा परेको भन्दै गुनासो गर्न थाले । आफूहरुले कर्जा नलिएको भन्दै उनीहरुले हारगुहार गर्न थाले ।

यो बिचमा पाण्डे र साहको सम्बन्धमा दरार सिर्जना हुन थाल्यो । कम्पनीले अनुसन्धान अगाडि बढायो । प्रमुख साह र अभिकर्ता पाण्डेले नक्कली कागजहरु बनाएर बीमितहरुको नाममा कम्पनीबाट कर्जा लिएको प्रारम्भिक अनुसन्धानबाट खुल्यो । व्यवसायिक र वित्तीय स्वार्थ बाँझिने गरी दुवै जनाको मिलेमतोमा कर्जा लिएर आफ्नो फाइदा उठाएको कम्पनीको अनुसन्धानले देखायो । उनीहरुको मिलोमतोमा नक्कली कागजात बनाई बीमितको नाममा कर्जा लिएर रकम आफुले प्रयोग गर्ने गरेको भेटिएको कम्पनीको भनाइ छ ।

‘यदि साहले स्वीकृत नगरेको भए यो समस्या आउने थिएन तर, कर्जा स्वीकृत गरेर शाखा प्रमुख साहले ठूलो गल्ति गरे, स्वार्थ बाँझिने गरी दुवै जनाले गलत काम गरेको देखिएको छ,’ कम्पनी स्रोतले भन्यो, ‘बिना डकुमेन्टेसन कर्जा स्वीकृत गरेको हुँदा प्रमुख साहको ठूलो गल्ति देखिन्छ ।’

स्रोतका अनुसार उक्त कर्जा रकम अभिकर्ता पाण्डेको नाममा ट्रान्सफर भएको हुँदा स्वार्थ देखिन्छ । तर, पाण्डे प्रमाणका आधारमा बलियो देखिन्छन् । किनभने उक्त कर्जा ग्राहकको नामबाट स्वीकृत गराएर पाण्डे आफूले चलाउने गरेको भेटिएको स्रोतको कम्पनी स्रोतको दावी छ ।

सो घटना बाहिरिएपछि प्रमुख साह र अभिकर्ता पाण्डेबीच उक्त समस्या समाधान गर्न पटक–पटक छलफल पनि भयो । दुवै जनाबीच सम्झौता भएर ग्राहकको रकम तिरेर पोलिसी निरन्तर गरेको भेटिएको कम्पनी स्रोतको दावी ।

‘ग्राहकको समस्या समाधान भएपनि दुवै जनाले वित्तीय स्वार्थ हुने गरी ठगी गरेका छन्, प्रमुख साहको जागिर जाने सम्भावना छ, वित्तीय संस्थामा काम गर्ने ब्यक्तिले कसैको पैसा निकाल्नु सामान्य विषय होइन, अर्काको पैसा निकालेर अवैधानिक हिसाबले चलाउनु भनेको ठूलो वित्तीय ठगी हो,’ उनले भने ।

बिना कागजात शाखा प्रमुखले कर्जा स्वीकृत गरेको र सो घटनामा आफ्नो संलग्नता नरहेको अभिकर्ता सत्येन्द्र पाण्डे बताउँछन् । उक्त वर्ष आफ्नो १ करोड २४ लाख रुपैयाँ हिनामिना भएको उनको भनाइ छ । जसमध्ये ५० लाख रुपैयाँको प्रमाण आफूसँग सुरक्षित रहेको उनले बताए ।

उनका अनुसार आफू जस्तै ५० जना अभिकर्ता र ५ सय भन्दा बढी बीमाधारी पीडित छन् । बिपिनकुमार साहसँग कार्यालयमा काम गर्ने बाहेक अन्य सम्बन्ध नरहेको उनको प्रष्टिकरण छ ।

‘कम्पनीले मलाई २०२१ मा करोडपति अवार्डबाट सम्मानित गरेको थियो, वर्षैपिच्छे प्रमाणहरु दिँदै आएको छ,’ उनले भने, ‘मेरो सम्बन्ध सबैसँग राम्रो छ । तर, सिस्टम र नियम खिलाप गरेकाले मैले आवाज उठाएको हो, कम्पनीले विश्वसनियता भङ्ग गर्याे भनेर मलाई कारवाही भयो ।’

उनले वार्षिक ३ करोड रुपैयाँ बराबरको कारोबार गरिरहेको धारणा राखे । उनी गौरस्थित आँखा अस्पतालमा काम गर्छन् । पार्ट टाइमको रुपमा बीमा अभिकर्ता भएर काम गरिरहेको उनको भनाइ छ ।

कम्पनीले सोमबार सूचना जारी गर्दै गौर शाखामा अभिकर्ताको रुपमा कार्यरत सत्येन्द्र पाण्डे र कर्मचारी (शाखा प्रबन्धक)विपीन कुमार साहलाई निलम्बन गरेको जानकारी दिएको छ । साथै, थप कानुनी कारवाहीको प्रक्रिया अघि बढिरहेको एलआईसी नेपालले बीमा प्राधिकरणलाई जानकारी गराएको छ ।

गैर–जम्मेवारपूर्ण रुपमा काम गरेको भन्दै अभिकर्ता पाण्डे र शाखा प्रबन्धक साहलाई तत्काल निलम्बन गरिएको र थप कानुनी कारवाहीका लागि नेपाल बीमा प्राधिकरणलाई जानकारी गराएको एलआईसी नेपालका सूचना अधिकारी सुदर्शन गिरीले बताए । गिरीका अनुसार गौर शाखामा अभिकर्ताको रुपमा कार्यरत पाण्डे र कर्मचारी कुमार साह दुवै जनाले मिलेमतोमा गैर–जिम्मेवारपूर्ण कार्यमा दोषी देखिएकाले निलम्बन गरिएको हो ।

‘दुवै जनालाई गैर–जिम्मेवारपूर्ण कार्यमा प्रथम दृष्टीमै दोषी पाइएकोले निलम्बन गरिएको हो, थप कानूनी कारवाहीको लागि प्राधिकरणलाई जानकारी गराएका छौं,’ उनले भने ।

साथै, अभिकर्ता पाण्डेसँग आगामी दिनमा अभिकर्ताको हैसियतमा कुनै पनि कारोबार नगर्न कम्पनीले सबैलाई आग्रह गरेको छ । बीमा प्राधिकरण लगायत अन्य नियामकीय तथा नीति नियम र निर्देशिकाबाट सञ्चालित हुँदै आएको एलआईसी नेपालले बीमितहरुको बीमा रकम शतप्रतिशत सुरक्षित रहेको सूचना अधिकारी गिरीले बताए ।

‘एलआईसी नेपालको नाममा चेक बनाएर ठगी गर्ने काम गरे, एलआईसीको नाममा चेक भएपछि अरुको पनि बीमा गर्न पाउँछन्, सो चेकबाट फरक–फरक ब्यक्तिहरुको बीमा गर्ने काम गरे,’ उनले भने, ‘त्यसबाट उनीहरुले कमिसन खाने काम, विदेश भ्रमण गर्ने काम गरे ।’

नेपाल बीमा प्राधिकरणका गुनासो व्यवस्थापन अधिकृत तथा उपनिर्देशक विरोध भट्टका अनुसार सो विषयमा प्राधिकरण राम्रोसँग जानकार छ । बीमितले कर्जा नमागेको भएपनि गलत प्रमाण जुटाएर कर्जा लिने काम अभिकर्ता पाण्डे र शाखा प्रबन्धक साहले गरेको आधारमा निलम्बन गरेको उनको भनाइ छ ।

नक्कली कागजकै भरमा शाखा प्रबन्धक साहले कम्पनीको प्रणालीमा कर्जा लिएको देखाउने गरेका थिए । एलआईसी नेपालको नाममा चेक बनाएर ठगी गरेको पुष्टि भएको उनको भनाइ छ ।

‘यो मुद्दा अनुसन्धानकै क्रममा छ, बीमितको पैसा फिर्ता गरेर कर्मचारी र अभिकर्तालाई मुद्दा हालेर रकम असुल गर्नुस् भनेका छौं, अहिले बिमितको रकम फिर्ता गरिसकेको छ,’ उनले भने, ‘केही दिनभित्र सो मुद्दा किनारा लाग्छ, एलआईसीले अनुसन्धान प्रतिवेदन पेश गरेपछि प्राधिकरणले थप कारवाही गर्छ ।’

Share News