काठमाडौं । इजरायलमा मारिएका १० जना नेपालीको शव ल्याउन केही ढिलाई हुने भएको छ । परराष्ट्र मन्त्रालयले बुधवार अपरान्ह पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले इजरायल सरकारले शव हस्तान्तरण गरेपछि मात्रै सो शव नेपाल ल्याउन सकिने बताइन् । उनले उनीहरुको शव छिटो ल्याउन सरकारले सहकार्य गरिरहेको र अहिले ती शवहरु इजरायल सरकारको संरक्षणमा सुरक्षित रहेको स्पष्ट पारिन् ।
उनका अनुसार नेपाल फर्कन चाहनेहरुलाई ल्याउन बुधवार (आज) राति नेपाल एयरलाईन्सको वाइडबडी विमान त्यसतर्फ पठाईनेछ । इजरायलमा नेपालको नियमित उडान पनि भएकाले आउन इच्छुक नेपालीहरुका लागि त्यहाँस्थित नेपाली दुतावासले सहजीकरण गर्ने पनि प्रवक्ता लम्सालले बताइन् ।
प्रवक्ता लम्सालले घाइते अवस्थामा रहेका ४ जनामध्ये २ जना अस्पतालबाट डिस्चार्ज भएको पनि जानकारी दिइन् । अन्य २ जनाको भने उपचार जारी रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।
‘घाइते ४ जनामध्ये २ जना भर्खर अस्पतालबाट डिस्चार्ज हुनु भएको भन्ने प्रारम्भिक जानकारी छ हामीलाई, २ जनाको उपचार भइरहेको छ, बेपत्ता एक जनाको खोजिका लागि सबै संयन्त्रलाई परिचालन गरिएको छ, खोजी कार्य जारी छ,’ लम्सालले भनिन् ।
बेपत्ता एक जनाको खोजीमा सम्पूर्ण सामथ्र्य परिचालन गरिएको पनि प्रवक्ता लम्सालले बताइन् ।