काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१को पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुले झण्डै पौने २ अर्ब रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेका छन् । असोज मसान्तसम्मको तथ्याङ्क अनुसार १४ वटा जीवन बीमा कम्पनीहरुले १ अर्ब ७१ करोड ९९ लाख ९७ हजार रुपैयाँ नाफा गरेका हुन् ।
गत वर्षको असोजमा यी कम्पनीहरुले १ अर्ब २५ करोड ८८ लाख ५० हजार रुपैयाँ खुद नाफा गरेका थिए । गत वर्षको तुलनामा जीवन बीमा कम्पनीहरुले खुद नाफा ३६.६३ प्रतिशत बढेको तथ्याङ्कले देखाएको छ ।
गत असोजसम्म सबैभन्दा धेरै नाफा वृद्धि गर्नेमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ । यस कम्पनीले १०४० प्रतिशत नाफा वृद्धि गरेर ४ करोड २० लाख रुपैयाँ आर्जन गरेको छ । यस्तै, सुर्याज्योति लाइफले ३६३.३१ प्रतिशत बढाएर १३ करोड २१ लाख रुपैयाँ नाफा गरेको हो ।
यस्तै, सानीमा रिलायन्स लाइफको १२८.३७ प्रतिशत बढेर ११ करोड ८ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पाेरेशनको ८८.५४ प्रतिशत बढेर ५ करोड ९७ लाख रुपैयाँ, आइएमई लाइफको ७६.२० प्रतिशत बढेर १३ करोड ३ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको ५३.६२ प्रतिशत बढेर १० करोड रुपैयाँ र हिमालयन लाइफको ३५.३७ प्रतिशत बढेर २४ करोड १३ लाख रुपैयाँ खुद नाफा गरेका हुन् ।
यस्तै, सन नेपाल लाइफको ३०.८० प्रतिशत बढेर १६ करोड ५३ लाख रुपैयाँ, एशियन लाइफको १४.९६ प्रतिशत बढेर १६ करोड ६१ लाख रुपैयाँ, नेपाल लाइफको १०.२४ प्रतिशत बढेर १५ करोड ७९ लाख रुपैयाँ, मेट लाइफको ४.८८ प्रतिशत बढेर ९ करोड २५ लाख रुपैयाँ, सिटिजन लाइफको १.५९ प्रतिशत बढेर ७ करोड १४ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको १.०१ प्रतिशत बढेर ११ करोड ९४ लाख रुपैयाँ र नेशनल लाइफको ०.२४ प्रतिशत बढेर १३ करोड २ लाख रुपैयाँ खुद नाफा गरेका हुन् ।
