काठमाडौं । सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजना कार्यालयलाई सूर्यविनायक-धुलिखेल सडकखण्डको काम अगाडि बढाउन सकस परेको छ । आयोजना कार्यालयलाई पर्याप्त बजेट उपलब्ध नहुँदा उक्त खण्डको काम तीव्र गतिमा गर्न समस्या भएको हो ।
बजेट अभावले गर्दा आयोजनाको उत्साहजनक प्रगति हुन नसकेको आयोजना कार्यालयका सूचना अधिकारी नारायण प्रसाद लामिछाने जानकारी दिए । ‘ठेकेदार कम्पनीले आफ्नो गतिमा काम गरिरहेको छ, तर अहिले बजेटको अभाव छ, बजेट नहुँदा ठेकेदार कम्पनीलाई रकम भुक्तानी गर्न सकेका छैनौं,’ उनले भने ।
गत आर्थिक वर्ष २०७९/८० बाट सुरु भएको उक्त आयोजना तीन वर्षभित्र सक्ने लक्ष्य राखी छुट्टाछुट्टै दुई चरणमा हाल काम भइरहेको छ । साँगादेखि धुलिखेल खण्ड र सूर्यविनायकदेखि साँगासम्म गरी ठेक्का दुई चरणमा भएको हो ।
कार्यालयले सूर्यविनायकदेखि साँगासम्मको खण्डको ठेक्का भ्याटसहित तीन अर्ब ८८ करोड र साँगादेखि धुलिखेलखण्ड चार अर्ब ५ करोड रुपैयाँमा लगाएको छ । समयमा बजेटको व्यवस्थापन नभए सडक विस्तारको काम रोकिन सक्ने अवस्थाको सिर्जना हुने उनको भनाइ छ ।
‘बजेटको उपलब्ध सयमै भयो भने सडकको काम पनि समय अवधिभित्रै सकिन्छ, नभएर आयोजनाको समय अवधि लम्बिन्छ, बजेट अभावले ठेक्दार कम्पनी सयमै भुक्तानी गर्न सकिएन भने उनीहरूले पनि कामलाई निरन्तरता दिन मान्दैनन्,’ उनले भने ।
लामिछानेका अनुसार उक्त आयोजनाको लागि तत्काल करिब दुई अर्ब रुपैयाँ बजेट आवश्यक छ । साउनदेखि नै बजेट माग गर्दै आएता पनि नआएको उनले जानकारी दिए ।
चालु आर्थिक वर्ष २०८०/८१ मा सो आयोजनाको लागि ५४ करोड रुपैयाँ बजेटको विनियोजन भएको छ । उक्त बजेटमध्ये ३७ करोड रुपैयाँ खर्च भइ सकेको पनि लामिछानेले बताए । खर्च गर्न मिल्ने बजेट जति खर्च भइसकेको उनको भनाइ छ ।
उनका अनुसार सूर्यविनायक-धुलिखेल सडकखण्ड निर्माणमा गत आर्थिक वर्ष करिब ५६ करोड रुपैयाँ खर्च भएको थियो । अहिले वाल बनाउने, ड्रेन निर्माण तथा केही ठाउँमा ग्राबेल गर्ने तयारी साथै आवश्यक काम भइरहेको लामिछानेले जानकारी दिए ।
लामिछानेका अनुसार आयोजनाको आर्थिक प्रगति १२/१३ प्रतिशत साथै भौतिक प्रगति करिब १८/१९ प्रतिशत भएको छ । ‘अहिले धेरै आयोजनाको काममा बजेटको अभाव देखिएको छ, राष्ट्रिय गौरवको आयोजना नभएता पनि यो अत्यन्तै महत्वपूर्ण आयोजना हो,’ उनले भने, ‘बढ्दो सवारीको चाप रहेको यो खण्ड विस्तारका लागि समयमै बजेटको व्यवस्थापन साथै सहजीकरण भयो भने कामको प्रगति राम्रो हुन्थ्यो भने काम पनि समयमै सम्पन्न हुन्थ्यो,’ उनले भने ।
बजेट नहुँदा समस्या भयो : प्रवक्ता पोखरेल
पर्याप्त बजेट नहुँदा सडक विभाग अन्तर्गतका धेरै आयोजनाको काम अगाडि बढाउन समस्या भएको विभागका प्रवक्ता रामहरि पोखरेलले बताए । उनका अनुसार अर्थ मन्त्रालयमा बजेटको माग गर्दा समेत बजेट नआएको उनको भनाइ छ ।
‘पर्याप्त बजेट नहुँदा धेरै आयोजनालाई समस्या भइरहेको छ, बजेट सुनिश्चित भएकै आयोजनामा पनि बजेट आएको छैन, अर्थमन्त्रालयसँग बजेटको माग गरिरहेका छौं,’ उनले भने । गत र चालु आर्थिक वर्षको हालसम्म गरी सडक विभागले करिब १३ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको पनि पोखरेलले जानकारी दिए ।