काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले इन्साइडर ट्रेडिङ (भित्री कारोबार) गरेको आशंका नेपाल बीमा प्राधिकरणले गरेको छ । कम्पनीले प्राधिकरणको अनुमति बिना पुँजीको ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेपछि इन्साइडर ट्रेडिङ गरेको आशंका प्राधिकरणले गरेको हो ।
हिमालयन रिइन्स्योरेन्सले हकप्रद सेयर निष्काशन र लाभांश प्रस्ताव पारित गर्न फागुन २० गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले प्राधिकरणको अनुमति बिना नै हकप्रदको एजेण्डा राखेपछि प्राधिकरण कम्पनीप्रति असन्तुष्ट बन्दै कानुनी कारबाही गर्ने तयारीमा जुटेको हो ।
प्राधिकरणका उपनिर्देशक शाम्भराज लामिछाने प्राधिकरणको स्वीकृति बिना हकप्रद सेयर जारी गर्छु भनेर डिस्क्लोज गर्न नमिल्ने बताउँछन् । ‘नियामकको अनुमति बिना यसरी डिस्क्लोज गर्नु इन्साइडर ट्रेडिङ हो, कम्पनीले आफूखुसी निर्णय पाउँदैन, योभन्दा अगाडि के कस्ता अभ्यास भएका छन् बुझेर थप निर्णय गर्छाैं,’ उनले भने ।
प्राधिकरणले गत माघ १७ गते नेपाल रि र हिमालयन रिइन्स्योरेन्सलाई एक वर्षभित्र २० अर्ब पुँजी पुर्याउन भनेको थियो । साथै, पुँजी वृद्धिको योजना पेस गर्न दुईटै कम्पनीलाई प्राधिकरणले १५ दिनको समय तोकेको थियो ।
तर, हिमालयन रिइन्स्योरेन्सले प्राधिकरणमा योजना पेस नगरी हकप्रद सेयर जारी गर्ने एजेण्डा राखेपछि प्राधिकरण कम्पनीप्रति कार्यशैलीप्रति असन्तुष्ट बनेको हो । कम्पनीको माघ २६ गते बसेको सञ्चालक समितिको बैठकले १०ः८ अर्थात् १० सेयर बराबर ८ सेयरको अनुपातमा ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल प्राधिकरणमा योजना पेस नगरी आफूखुसी निर्णय गर्न नमिल्ने बताउँछन् । एकैपटक ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न दिने वा नदिने भन्ने प्राधिकरणको अनुमति नलिई सूचना जारी गर्ने विषयमा प्राधिकरणमा छलफल भइरहेको उनको भनाइ छ ।
‘पुँजी वृद्धिको योजना पेस गर्न १५ दिनको समय दिइएको हो, समय बाँकी नै छ । तर, हिमालयन रिइन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने निर्णय सञ्चारमाध्यमबाट थाहा पायौं,’ उनले भने, ‘कम्पनीले अहिलेसम्म पुँजी वृद्धिको योजना प्राधिकरणमा पेस गरेको छैन, एकैचोटी ८० प्रतिशत हकप्रद जारी गर्ने भनेपछि अफ्ठ्यारो भयो ।’
यस विषयमा कम्पनीले पनि कुनै पनि धारणा दिएको छैन । हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ छ । कम्पनीले चुक्ता पुँजीको ४ प्रतिशत अर्थात् ४० करोड रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बोनस सेयर वितरण पश्चात् कम्पनीको पुँजी १० अर्ब ४० करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीले १० अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजीको ८० प्रतिशत अर्थात् १० सेयर बराबर ८ सेयर अनुपातमा ८ अर्ब ३२ करोड रुपैयाँ हकप्रद सेयर निष्कानश गर्नेछ । हकप्रद सेयर निष्काशन पश्चात् कम्पनीको पुँजी १८ अर्ब ७२ करोड रपैयाँ पुग्नेछ । बाँकी रहेको पुँजी बोनस सेयर वितरण गरेर २० अर्ब पुर्याउने योजना कम्पनीको छ ।