काठमाडौं । आइएमई ग्रुप अन्तर्गत सञ्चालित विभिन्न चार कम्पनीले नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर बिक्री गरेर बाहिरिने भएका छन् । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, ग्लोबल आइएमई क्यापिटल, हाथवे इन्भेष्टमेन्ट नेपाल र आइएमई लिमिटेडले आफ्नो स्वामित्वमा रहेको पौने ३६ लाख कित्ता सेयर बिक्री गरेर बाहिरिन लागेका हुन् ।
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २० लाख कित्ता, ग्लोबल आइएमई क्यापिटलको १ लाख ८७ हजार ४३४ कित्ता, हाथवे इन्भेष्टमेन्टको ६ लाख ५० हजार कित्ता र आइएमई लिमिटेडको ७ लाख ५० हजार कित्ता गरी कुल ३५ लाख ८७ हजार ४३४ कित्ता सेयर बिक्रीमा राखेका हुन् ।
उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ । सो मूल्यका आधारमा चारै कम्पनीले १ अर्ब ४४ लाख ८१ हजार रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेका हुन् ।
कम्पनीको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरूले फागुन ८ गतेदेखि फागुन १२ गतेसम्म बोलपत्र पेश गर्नु पर्नेछ । कम्पनीको सेयर विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाले खरिद गर्न सक्ने बताइएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
नेपाल रिमा भएको आफ्नो कूल स्वामित्वको केही प्रतिशत सेयर बिक्री गरेर अन्य क्षेत्रमा लगानी गर्ने योजना बनाएको इन्स्योरेन्स स्रोतले बताएको छ । एउटै कम्पनीमा धेरै सेयर स्वामित्व भएपछि लगानी विविधिकरण गर्न खोजेको कम्पनीको भनाइ छ ।
‘अन्य कुन क्षेत्रमा लगानी गर्ने भनेर एकिन निर्णय भएको छैन तर लगानी एउटै ठाउँमा धेरै भएकाले त्यो बेचेर अन्य क्षेत्रमा लगानी गर्न खोजिएको हो,’ स्रोतले भन्यो ।
साविक आइएमई जनरल र साविक प्रुडेन्सियल इन्स्योरेन्स मर्ज भएपछि नेपाल रिमा कम्पनीको सेयर स्वामित्व बढ्न पुगेको हो ।
नेपाल रिइन्स्योरेन्सको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन अनुसार साविक आइएमई जनरलको १८ लाख ८५ हजार १६५ र साविक प्रुडेन्सियल इन्स्योरेन्सको १८ लाख ८५ हजार १६५ कित्ता सेयर गरी कूल ३७ लाख ७० हजार ३३१ कित्ता सेयर स्वामित्व छ ।
यस्तै, आइएमई लिमिटेडको १४ लाख ९ हजार ११ कित्ता सेयर स्वामित्व थियो । रिइन्स्योरेन्सले बोनस सेयर वितरण गरेको हुँदा उक्त सेयर संख्या वृद्धि भएको हुन सक्छ ।
नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीलाई पुँजी वृद्धिको लागि निर्देशन दिएको छ । यही समयमा आइएमई ग्रुप लगायत सेयरधनी नेपाल रिबाट बाहिरिरहेका छन् ।