
काठमाडौं । मारुती सुजुकीका कार बिक्रीमा गिरावट आएको छ । मारुतीको बिक्री सन् २०२४ मे महिनामा दुई प्रतिशतले घटेको हो ।
मारुती सुजुकी इन्डिया (एमएसआई) को गाडी बिक्री वार्षिक आधारमा मे महिनामा दुई प्रतिशतले घटेर १ लाख ७४ हजार ५ सय ५१ युनिटमा सीमित भएको हो ।
कम्पनीले वितरकहरूलाई १ लाख ७८ हजार ८३ सवारीसाधन आपूर्ति गरेको थियो । एमएसआईले शनिबार एक विज्ञप्ति सार्वजनिक गर्दै आन्तरिक बजारको यात्रुवाहक सवारी खण्डमा यसको बिक्री केही बढेर १ लाख ४४ हजार युनिट पुगेको छ, जुन गत वर्षको मे महिनामा १ लाख ४३ हजार ७ सय ८ युनिट रहेको जनाएको छ ।
कम्पनीका अल्टो र एस–प्रेसो जस्ता साना कारहरूको बिक्री गत वर्षको मे महिनामा १२, हजार २ सय ३६ युनिटको तुलनामा मे महिनामा घटेर ९ हजार ९ सय २ युनिटमा अडिएकाे छ ।
कम्प्याक्ट कारहरू बलेनो, सेलेरियो, डिजायर, इग्निस, स्विफ्ट, टुर एस र वागन आरको बिक्री पनि मे महिनामा घटेर ६८ हजार २ सय ६ युनिटमा पुगेको छ, जुन अघिल्लो वर्षको सोही महिनामा ७१ हजार ४ सय १९ युनिट थियो ।
बहुउद्देश्यीय सवारीसाधनहरू (ब्रेजा, ग्रान्ड भिटारा, एर्टिगा, एस–क्रस र एक्सएल६) को बिक्री मे महिनामा बढेर ५४ हजार २ सय ४ युनिट पुगेको छ, जुन मे २०२३ मा ४६ हजार २ सय ४३ युनिट थियो ।
भ्यान बिक्री गत वर्षको सोही महिनामा १२ हजार ८ सय १८ युनिटको तुलनामा मे महिनामा १० हजार ९ सय ६० युनिटमा झरेको छ ।
हल्का व्यावसायिक गाडी सुपर क्यारीको बिक्री गत वर्षको मे महिनामा २ हजार ८ सय ८८ युनिटको तुलनामा मे महिनामा २ हजार ६ सय ९२ युनिट थियो ।
कम्पनीको सवारी निकासी वैशाखमा १७ हजार ३ सय ६७ युनिटमा झरेको छ, जुन अघिल्लो वर्षको सोही महिनामा २६ हजार ४ सय ७७ युनिट थियो । एजेन्सी