काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट नेकपा (माओवादी केन्द्र) तिर नभई जनतातिर ढल्केको प्रतिक्रिया दिएका छन् ।
बुधबार संसदभवन बाहिर सञ्चारकर्मीहरुको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेट माओवादीतिर ढल्केको भन्दा कतिको दबाब महशुस भयो भन्ने प्रश्नको जवाफ दिँदै यस्तो प्रतिक्रिया दिएका हुन् । संसदीय दलको बैठकमा अध्यक्ष ओलीले बजेट अर्थमन्त्रीको पार्टीतिर ढल्केको इंगित गरेको थिए । अर्थमन्त्री पुनले सरकारले ल्याएको बजेट कतै पनि नढल्किएको बताए ।
उनले नेकपा (माओवादी केन्द्र), निजी क्षेत्र र सरकारतिर बढी ढल्केको भन्ने टिप्पणी आएपनि यथार्थमा त्यस्तो नभएको बताए । आगामी आर्थिक वर्षको बजेट पार्टी र सरकार भन्दा पनि जनतातिर ढल्केको दाबी गरे । मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने र समग्र जनता र युवामा आत्मविश्वास र हौसला पैदा गर्ने खालको बजेट ल्याएको दाबी गरे ।
हरेक तीन वर्षमा कर्मचारीहरुको तलव वृद्धि गर्ने कानूनी व्यवस्था भएकाले अर्को वर्ष तलव वृद्धि हुने बताए । मजदुरहरुको तलव निर्धारण गरी सरकारले बजेटलाई मजदुरमैत्री नीति लिएको जानकारी दिए ।
‘सरकारले ल्याएको बजेट कतै पनि ढल्किएको छैन । समग्रमा सरकारले रोजगारी सिर्जना गर्ने,अर्थतन्त्रलाई विकास गर्ने र गति दिएर रोजगारी सिर्जना गर्ने नीति लिएका छौं । त्यसैले बजेट पनि श्रमिकमैत्री छ । सबैको सहयोग आवश्यक छ । सरकारले बजेट कार्यान्वयन गर्छ र वस्तुगत रुपमा रिजल्ट पनि दिन्छौ’, उनले भने ।
उहाँले सरकारले रोजगारी सिर्जना गर्ने, अर्थतन्त्रलाई विकास गर्ने र गति दिएर रोजगारी सिर्जना गर्ने नीति लिएको बताए । सरकारले बजेट कार्यान्वयन गरी वस्तुगत रुपमा परिणाम निकाल्ने प्रतिवद्धता जनाए ।