काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले बजेट निर्माणका लागि सबै सांसदहरुले मिलेर छुट्टै ऐन तर्जुमा गर्नुपर्ने प्रस्ताव गरेकी छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा माग लिँदै उनले सो कुरा बताएकी हुन् । सांसद कार्कीले सरकारका मन्त्रीहरु फेरिरहने हुनाले बजेट निर्माणको काममा तलमाथि हुन नदिन पनि सो ऐनको छुट्टै व्यवस्था हुन आवश्यक रहेको तर्क गरिन् ।
सबै सांसदहरुले बजेटमा यो भएन, त्यो भएन भनेर असन्तुष्टि व्यक्त गर्नुभन्दा पनि त्यसको सुधारका लागि छुट्टै ऐन तर्जुमा गर्ने कुरामा सबै सांसदहरु अघि बढ्नुपर्ने सांसद कार्कीको भनाई थियो । बजेट निर्माणमा समस्या आउन नदिन पनि ऐनले त्यसलाई गाईड गर्नुपर्ने तर्क समेत गरिन् । सांसद कार्कीले सो ऐनमा बजेट छलफल, त्यसको मध्यावधि समिक्षा तथा तत्कालीन, मध्यकालीन र दीर्घकालिन लक्ष्य निर्धारणको विषयको पनि आवश्यक विधि बन्नुपर्ने बताइन् ।
‘हामी २७५ जना सांसदहरुले औपचारिक/अनौपचारिक रुपमा यो प्रश्ताव भएन, यो प्रक्रिया मिलेन, सेटिङमा गरियो । आफ्नो निर्वाचन क्षेत्रमा मात्र लगियो, यसलाई सुधार गर्नु पर्छ भनिरहँदा आउनुस्न, संकल्प गरौं । किनभने अस्थिर सरकारको यो ढोङमा, यो कुर्सीको लडाईमा मन्त्रीहरु फेरीरहन सक्छन । तर स्थायी सरकारलाई मन्त्री फेरिए पनि ऐनमा नै बजेट यसरी निर्माण गर्ने है भनेर त्यो ऐनले गाईड गरोस्’, उनले भनिन् ।
सांसद कार्कीले सरकारले प्रस्तुत गरेको मन्त्रालयगत बजेट विनियोजनमा स्पष्ट कार्यक्रम आउन नसकेको दाबी समेत गरिन् ।