पर्साका सरकारी कार्यालयले गरे विनियोजित बजेटको ५२ प्रतिशत खर्च

<p>वीरगञ्ज । मधेश प्रदेश सरकार मातहतका पर्साका सरकारी कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा विनियोजित बजेटको ५२.३४ प्रतिशत खर्च गरेका छन् । मधेश प्रदेश सरकारले गत आवमा प्रदेश सरकार मातहतका १६ वटा सरकारी कार्यालय र १४ वटा स्थानीय तहका लागि ४ अर्ब ५१ करोड ४३ लाख ९५ हजार ९ सय ३८ रुपैयाँ विनियोजन गरेको थियो [&hellip;]</p>

वीरगञ्ज । मधेश प्रदेश सरकार मातहतका पर्साका सरकारी कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा विनियोजित बजेटको ५२.३४ प्रतिशत खर्च गरेका छन् ।

मधेश प्रदेश सरकारले गत आवमा प्रदेश सरकार मातहतका १६ वटा सरकारी कार्यालय र १४ वटा स्थानीय तहका लागि ४ अर्ब ५१ करोड ४३ लाख ९५ हजार ९ सय ३८ रुपैयाँ विनियोजन गरेको थियो ।

तर, सरकारी कार्यालयले कुल विनियोजित बजेटमध्ये २ अर्ब ३६ करोड २६ लाख २९ हजार ३ सय ७६ रुपैयाँ मात्र खर्च गरेका छन् । पर्साका सरकारी कार्यालयले गत आवमा विनियोजित बजेटको ६३.४३ प्रतिशत अर्थात ७६ करोड ९५ लाख ८२ हजार ४ सय २ रुपैयाँ चालु खर्च गरेका छन् ।

पर्साका सरकारी कार्यालयले गत आवमा विनियोजित पुँजीगत खर्चको ४८.२६ प्रतिशत अर्थात १ अर्ब ५९ करोड ३० लाख ४६ हजार ९ सय ७४ रुपैयाँ खर्च गरेका छन् । प्रदेश लेखा इकाई कार्यालय वीरगञ्जका प्रदेश कोष नियन्त्रक श्यामउदय ठाकुरले गत आवमा प्रदेश मातहत पर्साका सरकारी कार्यालयले विनियोजित बजेटको ५२.३४ प्रतिशत मात्रै खर्च गरेको बताए ।

‘मधेश प्रदेश मातहतका सरकारी कार्यालयले समयमै बजेट खर्च नगर्ने कारण अपेक्षाकृत पुँजीगत खर्च नभएको हो,’ उनले भने, ‘खर्च गर्दा पनि असार महिनामा मात्रै अत्यधिक खर्च गर्ने परिपाटीले समस्या ल्याएको हो । मलेपको फारम नम्बर अनुसारको खर्च नगर्ने प्रवृत्ति छ ।’

कोष नियन्त्रक ठाकुरले बजेट खर्च गर्न समयमै कार्यादेश र बोलपत्र आह्वान प्रक्रिया अघि नबढाउँदा समयमा खर्च नहुने समस्या देखिएको धारणा राखे । पर्सामा मधेश प्रदेश मातहतका सरकारी कार्यालय १६ वटा र १४ स्थानीय तह छन् ।

मधेश प्रदेश सरकारले गत आवमा पर्सा जिल्ला मातहतका १४ स्थानीय तहलाई २४ करोड ७३ लाख ५ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । सबै स्थानीय तहले सो अवधिमा कुल विनियोजित बजेटको ७३.०४ प्रतिशत अर्थात १८ करोड ६ लाख २२ हजार २ सय ५० रुपैयाँ खर्च गरेका छन् ।

प्रदेश लेखा इकाइ कार्यालय वीरगञ्जका अनुसार गत आवमा प्रदेश मातहतका सरकारी कार्यालयले १ अर्ब ६५ करोड ६४ लाख ८१ हजार ६ सय ४३ रुपैयाँ राजस्व संकलन गरेको छ । यो राजस्व रकममध्ये यातायात व्यवस्था कार्यालय वीरगञ्जको हिस्सा १ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । बाँकी राजस्व अन्य कार्यालयको हो ।

Share News