काठमाडौं । मेची महाकाली विद्युत्तीय रेल मार्ग आयोजनाको सिमरा–बर्दीबास खण्ड अन्तर्गत सागरनाथ वन विकास परियोजना क्षेत्रभित्र परेका ११ हजार १२३ वटा रुख काट्ने सरकारले अनुमति दिएको छ । चैत ३ गते बसेको मन्त्रिपरिषद्का बैठकले उक्त रुख काट्न अनुमति दिने निर्णय गरेको रेल विभागले जनाएको छ ।
ती रुख काट्न नपाउँदा पूर्व पश्चिम रेल मार्ग निर्माणको कामले रोकिएको थियो । विभागले रेल मार्गमा पर्ने रुख काटेर सट्टा भर्नमा रुख रोपिदिने प्रतिवद्धता गर्दै ६ करोड बजेट समेत विनियोजन गरिसकेको छ । ‘हामीले रुख काटेर रोप्नका लागि आवश्यक बजेट समेत विनियोजन गरिसकेका छौं, सरकारले रुख काट्ने अनुमति दिएको छ । अब पूर्व पश्चिम रेल मार्ग निर्माणको कामले गति लिन्छ’, रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले भने ।
हाल विभागले बर्दिबास–लालबन्दी खण्डको ३० किलोमिरट रेल मार्ग निर्माणको काम अघि बढाएको छ । तर वन भएको क्षेत्रमा काम रोकिएको थियो । ९४५ किलोमिटर लम्बाईको मेची महाकाली रेल मार्ग प्रति घण्टा २०० किलोमिटर स्पिडमा दौडनेछ । यसले नेपाललाई ट्रान्स एसियन रेल वे नेटवर्कमा जोड्नेछ । यो रेल मार्ग बनाउन प्रति किलोमिटर ३५ देखि ४० करोड अनुमान गरिएको छ ।
