एथरको नयाँ मोडल ४५०एक्स र ४५०एस सार्वजनिक, एथर रिज्टाको बुकिङ खुला

काठमाडौं । नेपालका लागि एथर इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक वैद्य इनर्जीले २०२५ मोडलका एथर ४५०एक्स र ४५०एस नेपाली बजारमा ल्याएको घोषणा गरेको छ । अत्याधुनिक प्रविधिसहित आएको यी स्मार्ट स्कुटरहरूलाई ‘बाइक अफ स्कुटर’ को उपनाम दिइएको छ । साथै, एथर रिज्टा इलेक्ट्रिक स्कुटरको बुकिङ पनि खुला गरिएको छ ।

कम्पनीका अनुसार २०२५ एथर ४५०एक्समा बहु–मोड ट्रयाक्सन कन्ट्रोल प्रणाली उपलब्ध छ, जसले स्कुटरलाई विभिन्न प्रकारका सडक सतहमा सुरक्षित र स्थिर बनाउँछ । रेन मोड, रोड मोड, र स्पोर्ट्स मोड जस्ता विशेष मोडहरूले प्रयोगकर्तालाई ट्राफिक र अफरोड दुबै अवस्थामा सहज अनुभव प्रदान गर्छन् ।

वैद्य इनर्जीका सीईओ सुर्यांश वैद्यले भने, ‘प्रिमियम मोटरसाइकलमा मात्र पाइने प्रविधिहरू अब स्मार्ट स्कुटरमा पनि उपलब्ध छन् ।’

स्कुटरको रेन्ज सुधार गर्न नयाँ टायर टेक्नोलोजी प्रयोग गरिएको छ । एथरले एमआरएफसँग सहकार्य गरेर मल्टी-कम्पाउन्ड टायर विकास गरेको छ, जसले ब्रेक लगाउँदा उर्जा क्षति कम गर्छ र ब्याट्री खपतलाई अनुकूल बनाउँछ ।

३.७ किलोवाट आवर क्षमताको ब्याट्री भएको एथर ४५०एक्सको वास्तविक रेन्ज १३० किलोमिटर भएको कम्पनीको दावी छ । आईडीसी अनुसार भने यसको रेन्ज १६१ किलोमिटर छ । त्यसैगरी २.९ किलोवाट आवर क्षमताको एथर ४५०एक्स र ४५०एसको वास्तविक रेन्ज १०५ किलोमिटर छ । आईडीसी अनुसार भने यसको रेन्ज क्रमशः १२६ र १२२ किलोमिटर छ ।

स्कुटरमा परिस्कृत सफ्टवेयर इन्जिन एथर स्ट्याक ६ प्रयोग गरिएको छ । यसमा गुगल म्याप्स, एलेक्सा भ्वाइस असिस्ट, ह्वाट्सएप, पिङ माई स्कुटर र लाइभ लोकेसन लगायतका सुविधा उपलब्ध छन् ।

नेपाली बजारमा २०२५ मोडलको एथर ४५० एसको मूल्य ३ लाख २४ हजार ९९९ तोकिएको छ । त्यसैगरी २।९ किलोवाट आवरको एथर ४५०एक्सको मूल्य ३ लाख ६४ हजार ९९९ र ३.७ किलोवाट आवरको एथर ४५०एक्सको मूल्य ३ लाख ९९ हजार ९९९ तोकिएको छ ।

कम्पनीले ८ वर्ष वा ८० हजार किलोमिटरको ब्याट्री वारेन्टी र ७० प्रतिशत ब्याट्री हेल्थ ग्यारेन्टी उपलब्ध गराउने बताएको छ ।

वैद्य इनर्जीले नेपालमा २०२३ देखि नै एथर इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरेर एथर एक्सपेरियन्स सेन्टर खोलेको थियो । हाल नेपालभर ६ एक्सपेरियन्स सेन्टर, १ टेस्ट राइड जोन, ५ सर्भिस सेन्टर र २१ एथर ग्रिड चार्जिङ स्टेसन रहेको बताइएको छ ।

Share News