काठमाडौं । टोयोटाले सन् २०२७ सम्म आफ्नै प्रविधिमा आधारित करिब १५ वटा इलेक्ट्रिक सवारीसाधन (ईभी) मोडेल विकास गर्ने लक्ष्य राखेको छ र त्यसबेला सम्म प्रति वर्ष १० लाख कार उत्पादन गर्ने तयारी गरिरहेको छ ।
जापानी पत्रिका निक्केईले आइतवार यस्तो जानकारी दिएको हो । टोयोटाले यस विषयमा भने कुनै टिप्पणी गर्न अस्वीकार गरेको छ ।
निक्केईका अनुसार टोयोटाले अहिले जापान र चीनमा मात्र निर्माण भइरहेका पाँचवटा ईभी मोडेल आफ्नै प्रविधिबाट विकास गरेको छ । अमेरिकामा, थाइल्यान्ड र अर्जेन्टिनामा उत्पादन विस्तार गर्नाले शुल्क तथा मुद्रा सटही जोखिम कम गर्न र डेलिभरी समय घटाउन मद्दत पुग्ने उल्लेख गरिएको छ ।
यी १५ वटा ईभी मोडेलमध्ये केही टोयोटाको लक्जरी ब्रान्ड लेक्सस अन्तर्गतका हुनेछन् ।
टोयोटाले अहिले सन् २०२६ मा करिब ८ लाख इकाइ उत्पादन गर्ने अपेक्षा गरेको छ, जुन अघिल्लो योजनाको करिब ५० प्रतिशतले कम हो ।
टोयोटाले यसअघि सन् २०२६ सम्ममा प्रति वर्ष १५ लाख र सन् २०३० सम्ममा ३५ लाख ईभी बेच्ने योजना रहेको बताएको थियो, तर ती संख्या लगानीकर्ताहरूका लागि मार्गदर्शक सूचक मात्रै रहेको कम्पनीको भनाइ थियो ।
सन् २०२४ मा टोयोटाले विश्वभर झण्डै १ लाख ४० हजार ईभी बिक्री गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा करिब एक तिहाइले बढी हो । ती बिक्रीहरू कम्पनीका कुल १ करोडभन्दा बढी सवारीसाधन बिक्रीमध्ये २ प्रतिशतभन्दा कम रहेका छन्।
यी पनि पढ्नूहोस् :
बेलायतको ज्यागुआर ल्याण्ड रोभरले आफ्ना गाडी अमेरिका नपठाउने
ट्रम्प ट्यारिफ : निसानले मेक्सिकोमा बनेका इन्फिनिटी एसयूभीहरूको लागि नयाँ अमेरिकी अर्डर नलिने