पोखरामा एसजे मोटोको क्याफे र ग्यालरी : बाइक, कफी र संस्कृति प्रेमीहरूका लागि नयाँ गन्तव्य

काठमाडौं । मोटरसाइकल, कफी र यात्राको प्रेममा रमाउनेहरूका लागि अब पोखरामा नयाँ गन्तव्य थपिएको छ । ‘एसजे मोटो’ ले हिमालयन जाभा सँगको साझेदारीमा पोखराको लेकसाइडमा क्याफे तथा ग्यालरीको सुरुवात गरेको छ, जसले मोटरसाइकल संस्कृति र प्रिमियम कफीलाई एउटै छानामुनि ल्याएको छ ।

चेत २३ गत आयोजित उद्घाटन कार्यक्रममा थुप्रै पाहुनाहरूको उपस्थिति रहेको थियो । बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म चलेको कार्यक्रममा प्रत्यक्ष प्रदर्शन, अन्तरक्रियात्मक सत्रहरू, र हिमालयन जाभाको उत्कृष्ट कफीको स्वाद लिन पाइने अवसरले सहभागीहरूलाई अविस्मरणीय अनुभव दिएको थियो ।

पोखराको मुटुमा अवस्थित यो क्याफे बाइकिङ र साहसिक यात्राका सौखिनहरूका लागि मात्र होइन, कफीको स्वादमा हराउन चाहने सबैका लागि आकर्षक केन्द्र बनेको छ । यहाँ उच्च गुणस्तरका बाइकिङ गियर, सहायक सामग्री, ताजा कफी र सांस्कृतिक भेटघाटका अवसरहरू उपलब्ध छन् ।

'हामी दुवै संसारको उत्कृष्टता - मोटरसाइकलको रोमाञ्च र कफी संस्कृतिको न्यानोपन - एउटै ठाउँमा ल्याउँदा अत्यन्त उत्साहित छौं । पोखरा जस्तै यात्रुहरूको प्रिय गन्तव्यमा यो उद्यम सुरु गर्न पाउनु हामीका लागि विशेष हो,' यसजे मोटोका संस्थापक सौरभ ज्योतिले भने ।

यस नयाँ शाखाको उद्घाटनसँगै एसजे मोटो र हिमालयन जाभाको दायरा अझै फैलिएको छ । अब यात्रु, बाइकर र कफी प्रेमीहरू पोखरामा भेला भएर आफ्नो जोश र अनुभवहरू साझा गर्न सक्नेछन् ।

Share News