काठमाडौं । टेल्जीको नयाँ स्पोर्टी विद्युतीय स्कुटर नेपालमा सार्वजनिक भएको छ ।योम मा ई मोटर्स प्रालिले ‘एस २’ स्कुटर सार्वजनिक गरेको हो ।
टेल्जी नेपालले मंगलबार नक्सालस्थित शोरुममा एक कार्यक्रमको आयोजना गरी एस २ स्कुटर सार्वजनिक गरेको हो ।
सार्वजनिक स्कुटर पावरफुलका साथै यसमा स्पोर्टी डिजाइन रहेको छ । टेल्जी स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता योम मा ई मोटर्स प्रालि हो ।
कम्पनीले एस २ को मूल्य २ लाख ६८ हजार रुपियाँ तोकेको छ ।
टेल्जी नेपालको निर्देशक सञ्जीव शिल्पकारले युवा वर्गलाई लक्षित गर्दै स्पोर्टी डिजाइनको स्कुटर नेपाल ल्याएको बताए ।
कम्पनीले ल्याएको नयाँ स्कुटर एस २ को फ्रन्टमा एग्रेसिभ डिजाइन रहेको छ । फ्रन्टमा सानो साइजको भाइजर, एलइएडी डीआरएल र ट्वीन पड हेड ल्याम्प छ । एस २ स्कुटरमा कम्पनीले ३ किलोवाट रेटेड पावरको मोटर उपलब्ध छ ।
यो स्कुटरको टप स्पीड ७५ किलोमिटर प्रतिघण्टाको छ भने यो स्कुटरको १६ डिग्री क्लाइम्ब क्षमता छ । यसमा कम्पनीले ७२ भोल्ट ३८ एम्पियर अवारको ग्राफिन ब्याट्री दिइएको छ । स्कुटरलाई एकपटक फुल चार्ज गरेर १०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ । यसलाई ३ घण्टामा फुलचार्ज गर्न सकिन्छ ।
यो स्कुटरको अगाडि पछाडि दुवैतर्फ डिस्क ब्रेकका साथै कम्बाइन ब्रेकिङ सिस्टम समेत दिएको छ । त्यस्तै, यसमा फुल डिजिटल कन्सोल, स्मार्ट की, अन्डर सिट स्टोरेज जस्ता फिचर पाउन सकिने कम्पनीले बताएको छ।
हाल नेपालमा टेल्जीका तीन मोडलका स्कुटर बिक्री गर्दै आएको योम मा ई मोटर्स प्रालिले केही दिनमै टाएगर स्कुटर सार्वजनिक गर्ने घोषणा पनि गरेको छ ।
कम्पनीले नेपालका मुख्य १० सहरहरूमा बिक्री गर्दै आएकाे छ । साथै टेल्जीका स्कुटरहरूमा लाइफटाइम निःशुल्क सर्भिस उपलब्ध समेत गराउँदै आएको छ ।