बीवाईडी ईभीमा परिमार्जित वारेन्टी, अब ब्याट्री र मोटरमा १० वर्षसम्मको वारेन्टी

काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्कले नेपालमा बिक्री भएका सबै बीवाईडी इलेक्ट्रिक गाडी (ईभी) हरूका लागि विस्तारित वारेन्टी नीति लागू गरेको छ । अफ्टर सेल्स सपोर्टमा यो नीति विद्युतीय सवारी उद्योगकै नयाँ बेन्चमार्क बन्ने कम्पनीले विश्वास लिएको छ ।

ग्राहक सन्तुष्टि र प्रविधिप्रतिको विश्वासलाई मजबुत बनाउँदै कम्पनीले परिमार्जित वारेन्टी नीति लागू गरेको हो । नयाँ वारेन्टी नीति अन्तर्गत विभिन्न भागहरूमा थप कभरेज उपलब्ध हुनेछ ।

कम्पनीका अनुसार पहिले ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टीलाई १० वर्ष वा २ लाख किलोमिटर मा विस्तार गरिएको छ । यो विद्युतीय सवारी क्षेत्रमा सबैभन्दा लामो वारेन्टी कभरेज मानिएको छ ।

पूर्ववत् ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर रहेको वारेन्टीलाई १० वर्ष वा २ लाख किलोमिटर मा विस्तार गरिएको छ। यसले दीर्घकालीन मानसिक शान्ति प्रदान गर्ने कम्पनीको दाबी छ ।

लाइट, टायर प्रेसर मोनिटरिङ मोड्युल, सस्पेन्सन र बल ज्वाइन्टजस्ता कम्पोनेन्टमा रहेको ४ वर्ष वा १ लाख किलोमिटरको वारेन्टीलाई ५ वर्ष वा १ लाख २५ हजार किलोमिटर मा पुर्याइएको छ ।

कन्जुमेबल, चार्जिङ इक्विपमेन्ट, गिफ्ट, रेफ्रिजेरेटरजस्ता सामानबाहेक अन्य सबै पार्ट्समा रहेको ६ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टीलाई ७।५ वर्ष वा १ लाख ८७ हजार ५ सय किलोमिटर मा विस्तार गरिएको छ ।

यो वारेन्टी नीति बीवाईडी ईभीको टिकाउपन, पर्फमेन्स र विश्वसनीयता प्रतिको प्रतिबद्धता दर्शाउने कम्पनीको भनाइ छ । ग्राहकलाई लामो समयसम्म शान्तिपूर्ण र तनावमुक्त सवारी अनुभव दिलाउन यो कदम चालिएको साइमेक्सले जनाएको छ ।

साइमेक्स इन्कका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ भन्छन्, 'हाम्रो यो विस्तारित वारेन्टीले बीवाईडीको अत्याधुनिक विद्युतीय सवारी प्रविधिप्रति हाम्रो दृढ विश्वास झल्काउँछ । यो पहलले ग्राहकहरूमाझ दीर्घकालीन विश्वास र निष्ठा निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।'

नेपालभर रहेका १३ भन्दा बढी अत्याधुनिक सर्भिस सेन्टर र बढ्दो चार्जिङ नेटवर्कको माध्यमबाट बीवाईडी प्रयोगकर्ताहरूले देशभर सहज र भरपर्दो सेवा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

परिमार्जित वारेन्टी नीतिसम्बन्धी विस्तृत जानकारीका लागि नजिकको बीवाईडी शोरुम वा अधिकृत सर्भिस सेन्टर मा सम्पर्क गर्न साइमेक्सले आग्रह गरेको छ ।

Share News