बीवाईडी सिगलले जित्यो २०२५ को ‘वर्ल्ड अर्बन कार अफ द इयर’ अवार्ड

काठमाडौं । बीवाईडीको नयाँ इलेक्ट्रिक मोडल सिगलले २०२५ वर्ल्ड अर्बन कार अफ द इयर को उपाधि जित्न सफल भएको छ । अमेरिकाको न्युयोर्कमा अप्रिल १६ मा सम्पन्न न्युयोर्क इन्टरनेसनल अटो शोमा आयोजित वर्ल्ड कार अवार्ड कार्यक्रममा यो सम्मान घोषणा गरिएको हो ।

कम्पनीका अनुसार विश्वभरका ११ उत्कृष्ट अर्बन सवारीसाधनहरूसँग प्रतिस्पर्धा गर्दै बीवाईडी सिगलले यो अवार्ड जित्दै इतिहास रच्यो । यो अवार्ड जित्ने बीवाईडी पहिलो चिनियाँ अटोमोबाइल कम्पनी बनेको छ, जसले विश्व बजारमा चिनियाँ इलेक्ट्रिक कारको उपस्थिति बलियो बनाएको छ ।

बीवाईडी सिगलको डिजाइन 'ओसन एस्थेटिक्स' दर्शनमा आधारित छ, जसले यसलाई ताजा, आकर्षक र आधुनिक बनाएको छ । उच्च सुरक्षा मापदण्ड, स्मार्ट ड्राइभिङ फिचरहरू र उत्कृष्ट अर्बन परफर्मेन्सका कारण यो मोडल विभिन्न अन्तर्राष्ट्रिय बजारहरूमा बेस्ट सेलर बन्न सफल भइरहेको छ ।

वर्ल्ड कार अवार्डका ९६ जना अन्तर्राष्ट्रिय निर्णायकहरू सिगलको अग्रगामी डिजाइन, अर्बन मोबिलिटी प्रदर्शन, र विश्वव्यापी बजार अपिलबाट प्रभावित भएका थिए ।

बीवाईडीका एक्जिक्युटिभ भाइस प्रेसिडेन्ट स्टेला ली भन्छिन्, 'सिगललाई ‘वर्ल्ड अर्बन कार’ को उपाधि प्राप्त हुनु हाम्रो लागि अत्यन्तै गर्वको विषय हो । यसले विश्वभरका ग्राहकलाई दिगो प्रविधि र उत्कृष्ट सेवामा हाम्रो प्रतिबद्धता पुष्टि गर्छ ।'

बीवाईडीले पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय बजारमा उल्लेख्य उचाइ लिँदै आएको छ । २०२४ मा बीवाईडी डल्फिन पनि अर्बन कार अफ द इयरको शीर्ष ३ मा पर्न सफल भएको थियो भने बीवाईडी सिल 'वर्ल्ड कार अफ द इयर' कै शीर्ष ३ मा पुगेको थियो, जुन कीर्तिमान अहिलेसम्म कुनै चिनियाँ अटो निर्माता कम्पनीले हासिल गर्न सकेको थिएन ।

नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इन्कले पहिले नै बीवाईडी सिगलको परीक्षण नेपाली सडकमा गरिसकेको छ । कम्पनीले छिट्टै यसलाई नेपालमा औपचारिक रूपमा सार्वजनिक गर्ने संकेत दिएको छ । नेपालमा यो मोडल निकै प्रतिक्षित रहेको बताइएको छ ।

बीवाईडीले आगामी दिनहरूमा पनि प्रविधि र नवप्रवर्तनमार्फत हरित यातायातको भविष्य निर्माण गर्दै पृथ्वीलाई १ डिग्री सेल्सियसको दरले चिसो राख्ने अभियानमा योगदान दिन प्रतिबद्ध रहेको जनाएको छ ।

Share News