काठमाडौं । लक्जरी रिटेलर जे एण्डको ले राजधानीको दरबारमार्गमा नयाँ फ्ल्यागशिप स्टोर रूपमा उद्घाटन गरेको छ । यस अवसरमा कम्पनीले पहिलोपटक नेपालमा विश्वप्रसिद्ध इटालियन फेसन ब्रान्ड एम्पोरियो अरमानी को प्रवेश गराएको छ भने, प्रतिष्ठित स्विस लक्जरी ब्रान्ड बाली लाई नयाँ जोश र पहिचानसहित पुनः लन्च गरिएको छ ।
स्टोरको उद्घाटन नेपालका प्रतिष्ठित उद्योगपति राजेन्द्र खेतान र श्रीमती आइरा झुनझुनवालाद्वारा सम्पन्न भएको थियो, जसले अनुभव र नयाँ पुस्ताको स्टाइल नेतृत्वलाई प्रतिनिधित्व गर्छन् ।
राजधानीको मुटुमा अवस्थित यो स्टोरले जे एण्ड कोको अन्तर्राष्ट्रिय लक्जरी ब्रान्डहरूलाई नेपाली ग्राहकहरूसम्म पुर्याउने प्रतिबद्धता झल्काउँछ । आधुनिक तथा सुरुचिपूर्ण इन्टेरियरले सजिएको यो बुटिकले उपभोक्तालाई उच्चस्तरीय किनमेल अनुभव प्रदान गर्छ ।
'यो विस्तार नेपालको फेसन क्षेत्रमा नयाँ अध्याय हो,' जे एण्ड कोका प्रबन्ध निर्देशक पंकज झुनझुनवाला भन्छन्, 'एम्पोरियो अरमानीले शालीनता र शहरी सौन्दर्य ल्याउँछ भने बाली ले स्विस इतिहासलाई नयाँ दृष्टिकोणसहित पुनः जीवन्त बनाएको छ । यी ब्रान्डहरू एउटै छानामुनि नेपालमा ल्याउन पाउँदा हामी गौरवान्वित छौं ।'
एम्पोरियो अरमानीले नेपालमा पहिलोपटक आफ्नो परिष्कृत इटालियन डिजाइन, न्यूनतावाद, र आधुनिक शैली सहितका उत्पादनहरू प्रस्तुत गर्दैछ, जुन विशेषगरी फेसनप्रेमी युवापुस्तालाई लक्षित गरिएको छ ।
उता, बालीले आफ्नो स्विस हस्तकला र उत्कृष्टताको परम्परालाई आधुनिक डिजाइन दृष्टिकोणसँग जोड्दै नेपाली बजारमा पुनरागमन गरेको छ, जसले लक्जरी फुटवेयर र एक्सेसरीजप्रतिको धारणा नै बदल्ने अपेक्षा गरिएको छ ।
उद्घाटन समारोहमा नेपालका फैशन, व्यापार, र जीवनशैली क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिले जे एण्ड को लाई नेपालको लक्जरी खुद्रा बजारमा ट्रेन्डसेटरको रूपमा थप स्थापित गरेको छ ।