काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा सुन, चाँदी, हिरा, जवाहरत तथा हस्तकला व्यवसायलाई लक्षित गर्दै २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याट लगाउने प्रस्ताव गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले यस कर नीतिलाई अव्यवहारिक भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।
महासंघका अनुसार करको यस्तो भारले केवल व्यवसायीहरू मात्र होइन, आम उपभोक्तालाई समेत प्रत्यक्ष असर पार्नेछ । महासंघले राज्यका सबै नीति, नियम र कानुनलाई व्यवसायीहरूले अहिलेसम्म इमानदारीपूर्वक पालना गर्दै आएको स्मरण गराउँदै, यसपटकको कर नीति व्यवसाय बन्द गराउन बाध्य पार्ने खालको रहेको जनाएको छ ।
समस्या समाधानका लागि महासंघले प्रधानमन्त्री, अर्थमन्त्री, संघीय संसदका समिति, नियमनकारी निकायहरू र राजनीतिक दलका प्रमुख नेताहरूसँग पटक–पटक छलफल गरी आग्रह गरिसकेको बताएको छ । केही सकारात्मक प्रतिक्रिया आए पनि ठोस निर्णय नभएको भन्दै महासंघले संघर्षका कार्यक्रमहरू अगाडि बढाउने निर्णय गरेको हो ।
संयुक्त आन्दोलनका कार्यक्रम अन्तर्गत असार मसान्तसम्म विरोध ब्यानर, कालो झण्डा र कालो पट्टीसहित विरोध प्रदर्शन, सचेतनामूलक पम्प्लेट वितरण, व्यवसायी अभिमुखीकरण कार्यक्रम र जनप्रतिनिधि जवाफदेही कार्यक्रम सञ्चालन गरिनेछ । असार १३ गते देशभर व्यवसाय बन्द गरी सदरमुकामहरूमा विरोध सभा तथा वाग्मती प्रदेशमा काठमाडौंमा वृहत र्याली गरिने जनाइएको छ ।
सरकारले माग सम्बोधन नगरेमा साउन १ गतेदेखि सम्पूर्ण सुनचाँदी व्यवसाय अनिश्चितकालीन बन्द गर्दै राष्ट्रव्यापी सडक आन्दोलन थालिनेछ । महासंघले तत्काल अध्ययन कार्यदल गठन गरी समस्याको समाधान गर्न सरकारलाई अपिल गरेको छ । साथै आम उपभोक्ता र सरोकारवाला संघ–संस्थाहरुलाई आन्दोलनमा ऐक्यबद्धता जनाउन आह्वान गरिएको छ ।