शिक्षा विधेयकमा सरोकारवालाहरूले चलखेल गरिरहेको सांसद भट्टराईको आरोप

काठमाडौं । नेकपा (एमाले)की सांसद विद्या भट्टराईले सरकार र संसदीय समितिलाई असक्षम बनाउने नियतले विद्यालय शिक्षा विधेयकमा सरोकारवालाहरूले चलखेल गरिरहेको आरोप लगाएकी छन् ।

सोमबार सिंहदरबारमा बसेको शिक्षा समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै यस्तो आरोप लगाएकी हुन् । उनले सरकार समेत इन्ट्रेस्ट ग्रुपको दबाबमा काम गरिरहेको आरोप बताइन् । 

विधेयकका सम्बन्धमा मस्यौदा अथवा प्रतिवेदनको पक्षमा उभिनुपर्ने सरकार इन्ट्रेस्ट गु्रपसँग छलफल गरिरहेको सांसद भट्टराईको आरोप छ । यसरी संसदको गरिमा र मर्यादा बाँकी नरहने उनको भनाइ छ । 

सांसद भट्टराईले भनिन्, ‘सरकार कि मस्यौदामा उभिनुपर्यो कि उपसमितिले दिएको प्रतिवेदनको पक्षमा उभिनुपर्यो । सरकार हरेक पल इन्ट्रेस्ट ग्रुपले भनेको कुराहरूको पछि लाग्ने हो भने संसदको गरिमामय मर्यादा बाँकी रहन्न  मस्यौदामा त ५० आन्तरिक र ५० प्रतिशत खुला पतिस्पर्धाबाट शिक्षक नियुक्ति गर्ने कुरा भनेका थियौं । त्यहाँबाट सहमतिका लागि ६० ६० आन्तरिकबाट र ४० खुला प्रतिस्पर्धाबाट भन्ने कुरामा पुगेको हो ।’

बैठकमा बोल्ने अधिकांश सांसदहरुले सरोकारवालाहरूको दबाबमा ऐन निर्माण गर्ने कुराप्रति आपत्ति  जनाएका छन् । 

Share News