वीरगञ्ज भन्सारबाट ११ महिनामा साढे ४ खर्बको आयत, निर्यात ८७ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा छिमेकी मुलुक भारत हुँदै वीरगञ्ज नाकामा ४ खर्ब ३४ अर्ब २६ करोड रुपैयाँ मूल्य बराबरको वस्तु तथा सामान नेपाल भित्रिएका छन् । यो नाका हुँदै कुल आयातको ७६.८० प्रतिशत हिस्सा भारतबाट आयातित सामानको रहेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार यो नाका हुँदै आयात-निर्यातको सबैभन्दा धेरै हिस्सा छिमेकी मुलुक भारतसँग हुने गरेको छ । यो नाका हुँदै हुने वैदेशिक व्यापार भारतसँग धेरै जोडिएको छ । यो नाकामा भारतपछि धेरै वस्तु तथा सामान भित्रिने मुलुकमा अर्जेन्टिना पर्दछ ।

चालु आवको ११ महिनामा अर्जेन्टिनाबाट ४६ अर्ब ७४ करोड रुपैयाँ मूल्यका वस्तु तथा सामान यहाँ भित्रिएका छन् । सो मुलुकबाट भित्रिएका सामानको हिस्सा भने ८.२७ प्रतिशत छ ।

त्यस्तै, छिमेकी मुलुक चीनबाट सोही अवधिमा २८ अर्ब ८६ करोड रुपैयाँको वस्तु तथा सामान यहाँ भित्रिएका छन् । चीनबाट आयात हुनेको हिस्सा भने १.२२ प्रतिशत  छ । चालु आवको ११ महिनामा ५० वटा मुलुकबाट वीरगञ्ज नाकामा ५ खर्ब ६५ अर्ब ४२ करोड रुपैयाँ मूल्यका वस्तु तथा सामान आयात भएका छन् ।

त्यसैगरी, वीरगञ्ज नाकाबाट चालु आवको ११ महिनामा ८६ अर्ब ९७ करोड रुपैयाँका वस्तु तथा सामान भारत निर्यात भएको छ । 

भारत निर्यातको हिस्सा भने ९५.०५ प्रतिशत छ । यो नाका हुँदै सोही अवधिमा धेरै निर्यात हुने दोस्रो मुलुक अमेरिका रहेको छ । जहाँ कुल निर्यातको २.३८ प्रतिशत अर्थात् २ अर्ब १८ करोड रुपैयाँ मूल्य पर्ने वस्तु तथा सामान निर्यात भएको छ । 

त्यस्तै अफगानिस्तानमा पनि यो नाका हुँदै सोही अवधिमा ६८ करोड रुपैयाँको वस्तु तथा सामान निर्यात भएको छ ।

Share News