काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत प्रस्ताव गरिएको एक करोड रुपैयाँ बराबरको अनुदान अस्वीकार गरेको छ । सेजनले सोमबार विज्ञप्ति जारी गर्दै उक्त अनुदान नलिने निर्णय जनाएको हो ।
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मन्त्रालयको वार्षिक कार्यक्रमअन्तर्गत सेजन, नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र महिला आर्थिक पत्रकार संघ (फेजा) लाई सरकारद्वारा एक-एक करोड रुपैयाँ सञ्चालन अनुदान विनियोजन गरिएको थियो ।
सेजनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग यस प्रकारको कुनै पनि बजेट माग नगरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
यसैगरी, सेजनले हालसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट कुनै पनि निःशर्त अनुदान स्वीकार नगरेको जनाएको छ ।
विज्ञप्तिमा सेजनका सदस्यहरू सरकार र सरोकारवाला निकायहरूमाथि बजेट अनुशासन र स्रोतको प्रभावकारी उपयोगबारे निरन्तर खबरदारी गर्दै आएको स्मरण गराउँदै यस अवस्थाको विरोधस्वरूप अनुदान अस्वीकार गरिएको जनाइएको छ ।
सेजनले हाल देशमा नागरिकको जीवन रक्षा र आधारभूत आवश्यकतामा सरकारको लगानी बढाउनु पर्ने आवश्यकता औंल्याउँदै यस्ता रकम त्यहीँ केन्द्रित हुनुपर्ने धारणा राखेको छ ।