विपदबाट नागरिक र सम्पत्तिको सुरक्षा गर्न सरकार तयारी अवस्थामा छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मनसुनका कारण हुनसक्ने विपद्जन्य जोखिमबाट नागरिक र सम्पत्तिको सुरक्षा गर्न सरकार पूर्ण तयारी अवस्थामा रहेको बताएका छन् ।

मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री लेखकले काठमाडौं उपत्यकामा विपद् हुँदा निजी वायुसेवा सञ्चालक संघले निःशुल्क उद्धार गर्ने सहमति भएको जानकारी दिए । उक्त सम्झौता वायुसेवा सञ्चालक संघ र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबीच भएको हो ।

मनसुनका समयमा विपद्को जोखिम बढ्ने भएकाले उद्धार र राहतलाई प्रभावकारी बनाउन खोज र उद्धारमा संलग्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललाई गृह मन्त्रालयले समन्वय गर्ने बताए ।

गृहमन्त्री लेखकले भने, 'विगतका अनुभवले पनि देखाएको छ, ठूलो जनधनको क्षति हुनसक्छ, त्यसैले सरकारले तयारी अवस्थामा बस्नुपर्ने हुन्छ । निजी वायुसेवाले उद्धारमा सहकार्य गर्दै ठूलो सार्वजनिक दायित्व पूरा गरेको छ ।'

उपत्यका बाहिरको उद्धार कार्यका लागि भने निजी वायुसेवाले आवश्यक परे अपरेसन कस्ट लिने गरी सहयोग गर्ने सहमति भएको छ ।

Share News