यो कस्तो चलन ? नैतिकता अरूमा खोज्ने अनि आफू चाहिँ भाग्ने ?

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक चलिरहेको छ । बैठकको तेस्रो चरणको पाँचौं सत्रमा टपक्क टोपी र दौरा सुरुवालमा सजिएर मजाले बसिरहेका छन्- केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत । बस्नेतको आँखा जुध्ने गरी सिधा अगाडि बसिरहेका छन्- महामन्त्री गगन थापा ।

थापाको यहाँको उपस्थिति आफ्नै ढंगको हुन्छ । एकपटक प्रतिनिधिसभामा बोल्दै उनले भनेका थिए, ‘राजनीतिक व्यक्तित्व तथा नेतामा नैतिक शक्ति हुनु आवश्यक छ ।’

तर, आफ्नै आँखा अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरौटीमा छाडेका व्यक्ति पार्टीको केन्द्रीय समिति बैठकमा उपस्थित हुँदा, न उनले उनीहरूलाई बैठकमा नबस्न भन्न सके, न त आरोपितहरूले नै आरोपको छिनोफानो नहुँदासम्म पार्टी गतिविधिबाट टाढा रहने घोषणा गरे ।

बस्नेत मात्र होइन, कांग्रेस केन्द्रीय समिति बैठकमा अर्का आरोपित बालकृष्ण खाँडले पनि भाग लिएका छन् ।

कुनै समय आफूले नेतृत्व गरेको दलले लज्जास्पद हार बेहोर्दा राजीनामा दिएर नैतिकता प्रदर्शन गरेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपालको योपटकको व्यवहार चाहिँ फरक देखियो । उनले विशेष अदालतमा बयान दिएपछि सिधै पार्टी कार्यालय पुगेर बैठकको अध्यक्षता गरे । त्यति मात्र होइन, सोही बैठकबाट आफूमाथि लागेका आरोप बारेमा केही नबोल्न पार्टी नेता कार्यकर्तालाई महासचिवमार्फत निर्देशनसमेत दिन लगाए ।

उता, सबैभन्दा नयाँ मानिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा जेल गए पनि न त पार्टी सभापतिको जिम्मेवारीबाट राजीनामा दिए, न त संसदीय दलको नेताबाट ।

आफूमाथि नपरेसम्म नैतिकताको कुरा उठाइन्छ, तर जब आफै परेको हुन्छ, ‘तैं चुप मै चुप’ लाग्ने प्रवृत्ति देखिनु राजनीति र लोकतन्त्रको शुद्धताका लागि दुःखद रहेको बताउँछन् राजनीति शास्त्रका प्राध्यापक अर्जुन अर्याल ।

अर्यालको भनाइमा सहमति जनाउँदै कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी भन्छन्, ‘यस्ता विषयमा अरूले भन्दा पनि सम्बन्धित व्यक्तिले आफैले महसुस गरेर नैतिक कदम चाल्नुपर्छ ।’

प्रजातन्त्रमा नैतिक आचरण सबैभन्दा महत्वपूर्ण हुनुपर्ने भए पनि जे पनि गर्न पाउने कुरा नै प्रजातन्त्र हो भन्ने भ्रम सिर्जना भइरहेको अर्यालको दाबी छ । ‘राजनीतिमा देखिएका यस्ता गतिविधिहरूले प्रणालीगत विकासमा अवरोध सिर्जना गर्छन्,’उनले भने ।
 

Share News