भारतीय बोट ब्रान्ड नेपाल भित्रियो, प्रिमियम इयरबड्स र इयरफोन बिक्री सुरु

काठमाडौं । भारतको ख्यातीप्राप्त वेयरेबल ब्रान्ड बोट लाइफस्टाइल नेपाली बजारमा आधिकारिक रूपमा लन्च भएको छ । मंगलबार शार्क ट्यांक इन्डियाका जज एवं बोटका सह–संस्थापक तथा प्रमुख मार्केटिङ अधिकृत अमन गुप्ताले औपचारिक रूपमा लन्च गरेका हुन् ।

नेपालका लागि बोट लाइफस्टाइल ब्रान्डको आधिकारिक बिक्रेता रमेश कर्प हुनेछ, जसले विभिन्न उत्पादनहरू नेपाली बजारमा बिक्री वितरण गर्नेछ ।

बोट भारतको नम्बर एक वेयरेबल ब्रान्डका रूपमा परिचित छ र यसअघि नेपालमा निर्भाना सिरिजका केही उत्पादनहरू बिक्री गर्दै आइरहेको थियो । तर, आधिकारिक रूपमा लन्च भएपछि यसको उपस्थिति अझ सुदृढ हुने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

कम्पनीका अनुसार हाइ-परफर्मेन्स एक्टिभ न्वाइज क्यान्सेलेसन युक्त प्रिमियम इयरबड्स र इयरफोनहरू नेपाली बजारका प्रमुख अनलाइन तथा अफलाइन खुद्रा बिक्रेतामार्फत उपलब्ध हुनेछन् ।

लन्च कार्यक्रममा सह–संस्थापक अमन गुप्ताले नेपाल आफूहरूको लागि विशेष बजार रहेको र यहाँको ग्राहकलाई गुणस्तरीय प्रविधि पुर्याउन पाउँदा हर्षित भएको बताए ।

त्यसैगरी, टेलिटकका कार्यकारी निर्देशक प्रतीक जलानले नेपाली बजारमा ब्रान्डको औपचारिक प्रवेशसँगै ग्राहक सन्तुष्टिका लागि उत्कृष्ट उत्पादन र सेवा पुर्याउने प्रतिबद्धता जनाए ।

Share News