काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकाल सुरु गरेदेखि हालसम्म कुल १८२ जना नेपाली डिपोर्ट भएका छन् । सन् २०२५ को जनवरी २० बाट आफ्नो दोस्रो कार्यकाल सुरु गरेका ट्रम्पले अवैध आप्रवासन नीतिमा कडाइ गर्दै आएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार ट्रम्प प्रशासनले २०२५ को जनवरी महिनामा ६ जना नेपालीलाई डिपोर्ट गरेको थियो । उक्त संख्या फेब्रुअरीमा बढेर १८ पुगेको थियो ।
त्यसपछि पनि डिपोर्ट हुने नेपालीको संख्या क्रमशः बढ्दै गएको थियो । मार्च महिनामा अमेरिकी अध्यागमनले धेरै नेपालीलाई डिपोर्ट गरेको थियो भने अप्रिल महिनामा यो संख्या ४२ पुगेको थियो ।
मे महिनामा डिपोर्ट गरिएका नेपालीको संख्या अझै बढेर ५८ पुगेको अध्यागमनको तथ्यांकले जनाएको छ । जुन महिनामा भने यो संख्या घटेर ४२ मा झरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ ।
अस्थायी अनुमति पाएका नेपाली त्रासमा
अस्थायी बसोवास अनुमति (टीपीएस) पाएका करिब साढे ७ हजार नेपाली अहिले त्रासमा रहेका छन् । प्रवासी मञ्च अमेरिकामा रहेका नेपालीहरुको संस्था प्रवासी नेपाली मञ्चका बाबुराम काफ्लेले दिएको जानकारीअनुसार टीपीएस भनिने अस्थायी बसोबास अनुमतिको म्याद सकिएपछि आफूहरू डिपोर्टमा पर्न सक्ने डरले उनीहरू तनावमा छन् ।
टीपीएसको म्याद नवीकरण नभए अमेरिकामा रहेका नेपालीमाथि डिर्पोर्टको खतरा रहेको छ ।
डिपोर्टको पुरानो क्रम
डोनाल्ड ट्रम्पको कार्यकालमा डिपोर्टको संख्या बढेजस्तो देखिए पनि नेपालीहरूको डिपोर्ट प्रक्रिया यसअघि पनि जारी थियो । प्राप्त तथ्यांकअनुसार सन २०२१ मा ३५ जना नेपालीलाई अमेरिकाबाट डिपोर्ट गरिएको थियो ।
२०२२ मा यो संख्या घटेर २२ मा झरेको थियो । राष्ट्रपति जो बाइडेनको शासनकालको तेस्रो वर्षमा २४ जना नेपाली डिपोर्ट भएका थिए भने अन्तिम वर्ष २०२४ मा यो संख्या फेरि बढेर ५२ पुगेको थियो।