काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बिहीबार केही बेरमै बस्न लागेको छ । प्रवक्ता मनिष झाका अनुसार बैठकका लागि अधिकांश सचिवालय सदस्यहरू केन्द्रीय कार्यालय, चमती पुगिसकेका छन् ।
झाले दिएकाे जानकारीअनुसार बैठकमा विशेष गरी संसदमा पार्टीले निभाउँदै आएको भूमिका र पछिल्लो विरोधको मोडालिटीबारे छलफल हुनेछ । उनले भने, 'नेकपा एमालेले लामो समय सदन अवरुद्ध गर्दा त्यो कदम उसैलाई निल्नु न ओकल्नु भएको देखियो, त्यसैले रास्वपाले संसदमा जारी विरोधको मोडालिटी परिवर्तन गर्ने विषयमा पनि आज छलफल गर्नेछ ।'
साथै, रुपन्देही क्षेत्रको उपनिर्वाचन तयारीबारे समेत बैठकमा विचारविमर्श हुने प्रवक्ता झाले बताए । उनका अनुसार आजको बैठक निर्वाचन तयारी बैठकसमेत हो ।
यसैबीच, हाल चर्चामा रहेको ‘कुलिङ पिरियड’ सम्बन्धी विषयमा समेत आजकै बैठकले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने उनले जानकारी दिए ।