जब सांसदहरू विश्वविद्यालयको छात्रावास छिरे

काठमाडौं । मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर स्थित केन्द्रीय क्याम्पसको छात्रावासमै सरसफाइ र आधारभूत व्यवस्थापन नै गए गुज्रिएको देखेपछि सांसदहरूले तत्काल सो अवस्था सुधार्न सम्बद्ध पदाधिकारीहरूलाई निर्देशन दिएका छन् ।

त्रिविको ईश्वरी कन्या छात्रावास अन्तर्गत ‘ङ’ ब्लकको भान्सा तथा पानी लगायतको प्रबन्धबारे अनुगमन गर्न बिहीबार अपरान्ह कीर्तिपुर पुगेको प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले त्रिविका प्राचार्यलगायतका पदाधिकारीलाई यस्तो निर्देशन दिए । 

टोलीमा समितिका सभापति अब्दुल खानसहित सांसदहरू कान्तिका सेजुवाल, महेन्द्र बहादुर शाही, रेखा यादव, सूर्यमान दोङ, रणेन्द्र बराइली, रुक्मणि राणा बराइली, सीता मिजार, सपना राजभण्डारी, मंगल प्रसाद गुप्ता र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका डा ईश्वर सुवेदी त्रिवि छात्रावास पुगेका थिए । 

विश्वविद्यालयको छात्रावासको व्यवस्था अनुगमन गर्न संसदीय टोली पुगेको सम्भवतः यो पहिलो घटना हो । संसदीय टोलीलाई छात्रावास पुग्नासाथ भान्साको व्यवस्थापन देखाउँदै त्यहाँका विद्यार्थीले अत्यन्त फोहर भाँडाकुँडा प्रयोग गर्ने गरिएको, भान्साको सरसफाइको अवस्था दयनीय रहेको, भान्छाको टेबुल, बस्ने मेच आदि साधन अत्यन्त फोहर भएको देखाएका थिए । 

यस बारेमा बारम्बार गुनासो गर्दा प्राचार्यको कार्यालय, स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारी तथा अन्य सम्बद्ध निकायले बेवास्ता गरेको र कतिपय अवस्थामा छात्रावासका वार्डेन लगायतबाट उल्टै रूखो व्यवहार र हप्कीदप्की हुने गरेको गुनासो गरे ।

‘पढ्न आएका हामीहरू समयमा मुख धुने पानीसमेत नपाए तनावमा पर्नुपर्यो, योसँगै भान्साको समेत समस्या बताउँदा वार्डेन म्यामलले ‘सरकारी होटलमा बसेपछि यस्तै हो, जे मिल्छ त्यसैले चलाउनु’ भन्नेसम्मको रुखो जवाफ दिनुभयो,’ एमएस्सी तेस्रो सेमेष्टरकी छात्रा सविना रेग्मीले सांसद टोली समक्ष भनिन् । 

छात्राहरू रहने ठाउँमा पानी र सरसफाइ अनिवार्य हुनुपर्ने कुराप्रति त्रिविका पदाधिकारीहरू असंवेदनशील रहेको उनले बताइन् । 

‘पानी अत्यन्त कम र त्यसमाथि पनि प्रयोग गर्न नै नमिल्ने गरी धमीलो पठाइयो । महिनावारी भएका बेलामा पनि एक जग पानीले सरसफाइ गर्नुपर्ने सम्मको कष्ट हामीले भोग्नुपर्यो,’ अर्की छात्रा रोहना जोशीले भनिन् । 

तत्काल समाधान गर्न सकिने र आपत परेको कुरा लिएर जाँदा पनि सरकारी काम हो समय लाग्छ, भन्ने जवाफ दिइने गरेको पनि उनले बताइन् । स-साना समस्या पनि समाधान नगरी दिँदा छात्रावासमा बिजुली वा अरु पूर्वाधार बिग्रेका अवस्थामा छात्राहरूले आफैँ पैसा उठाएर मर्मत गर्नुपर्ने सम्मको अवस्था सृजना गरिएको उनको भनाइ छ । 

छात्रावासको निरीक्षण र छात्राहरूको गुनासो सुनेपछि संसदीय टोलीले केन्द्रीय क्याम्पसका प्राचार्य अकल देव मिश्र र प्रोक्टर राजेन्द्र कुवँरसँग समस्याबारे सोधपुछ गरेको थियो । सांसदहरूले आफूहरूले छात्रावासमा अवलोकन गर्दा सरसफाइ र स्वास्थ्य सुरक्षाको न्यूनतम मापदण्ड पनि नपुर्याइएको पाएको बताएका थिए । 

‘त्रिविको केन्द्रीय क्याम्पसजस्तो प्रतिष्ठित संस्थामा यस्तो दुरावस्था देखिनु दूर्भाग्यपूर्ण हो, विद्यार्थीलाई स्वच्छ पानी र आधारभूत सरसफाइबाट वञ्चित गराएर मानवअधिकार उल्लङ्घन गरिएको छ,’ समितिका सभापति खानले भने । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका डा ईश्वर सुवेदीले छात्रावासको भोजनालयमा खाद्यान्नको स्वच्छतालाई सर्वाधिक प्राथमिकता दिइनुपर्ने बताए । आफूले त्यहाँ प्रयोग भएको पानीको नमूना सङ्कलन गरेको बताउँदै उनले विभागमा त्यस पानीको स्वच्छताबारे जाँच गरिने बताए । छात्रावासका  समस्या तत्काल समाधान गर्न निर्देशन दिँदै उनले विद्यार्थीबाट फेरि पनि सोही खालको गुनासो आए समितिले थप कदम चाल्ने चेतावनी दिए । 

त्रिवि स्ववियुका सभापति दीपकराज जोशीले त्रिवि पदाधिकारीहरूमा विद्यार्थी नरम स्वरले उठाएका कुरा बेवास्ता गर्ने र सोही कुरा दबाब मूलक ढङ्गले राखेपछि मात्र पूरा गर्ने प्रवृत्ति रहेकाले समस्या जटिल हुन गएको बताए । शौचालय व्यवस्थापन गर्न राखिएको माग सुन्दै सुनिएन अनि त्रिवि प्रिन्सिपल कार्यालयको शौचालय बन्द गरेपछि बल्ल माग पूरा भएको उनको भनाइ छ ।

Share News