काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृतका लागि पहल गर्न फ्रान्स जान लागेको बताएका छन् ।
शुक्रवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने सरकारको एजेण्डा रहेको र पेरिसमा हुने वर्ल्ड हेरिटेज कमिटीको बैठकमा सहभागी हुन आफू त्यसतर्फ जान लागेको बताए ।
उनले सरकारले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न विगत लामो समयदेखि पहल गरिरहेको जानकारी दिए।
मन्त्री पाण्डेले भन्नुभयो, ‘तिलौराकोटलाई विश्व सम्पदा सूचिमा राख्नेगरी हाम्रो एजेण्डा छ । वर्ल्ड हेरिटेज कमिटीको मिटिङ पेरिसमा छ । हामी १० वर्ष यता त्यो प्रयासमा छौं । त्यसमा पनि थुप्रै जटिलताहरू छन् । कसले सपोर्ट गर्ने, कसले नगर्ने भन्ने । २१ वटा देश सम्मिलित कमिटी छ । त्यो कमिटीको बहुमतले निर्णय गर्नुपर्छ । त्यसमा भारत, कतार, जापान, कोरिया लगायतका एसियन देशहरू छन् ।’
तिलौराकोटमा धेरै पुरातात्विक वस्तुहरू फेला परेको, त्यही बेलै औद्योगिकीकरण भएको, व्यवस्थित सिटी, पार्क, आधुनिक सहरमा हुने पूर्वाधार सबै थिए भन्ने कुरा वैज्ञानिकहरुले पुष्टि गरेको अवस्था रहेको उनले बताए ।
मन्त्री पाण्डे ७ तारिखमा पेरिस जान लागेका हुन् ।