काठमाडौं । यातायात व्यवस्था विभागको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीमा प्राविधिक समस्या देखिएको छ । विभागले शुक्रबारदेखि (लाइसेन्स) प्रणालीमा प्राविधिक समस्या देखिएपछि लाइसेन्ससँग सम्बन्धित सबै सेवाहरू अनिश्चितकालका लागि बन्द गरेको जनाएको छ ।
विभागले शुक्रबार सूचना जारी गर्दै प्रणालीमा समस्या आएकाले समाधानको प्रयास भइरहेको उल्लेख गरेको छ ।
सूचनाअनुसार इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक अवस्थामा गरिने लाइसेन्स प्रिन्ट लगायतका सम्पूर्ण कामहरू पूर्ण रूपमा रोकिएका छन् ।
प्रणालीमा आएको यस समस्याले गर्दा नयाँ लाइसेन्सका लागि अनलाइन आवेदन दिने, लिखित तथा प्रयोगात्मक परीक्षा (ट्रायल) पास गरेकाहरूको राजस्व तिर्ने, बायोमेट्रिक दिने, लाइसेन्स नवीकरण गर्ने र स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने जस्ता सबै कामहरू देशभर ठप्प भएका हुन् ।
विभागले प्रणालीको मर्मत तथा समाधानको कार्य जारी रहेको बताए पनि कहिलेसम्ममा सेवा पुनः सञ्चालनमा आउँछ भन्नेबारे कुनै निश्चित समयसीमा तोकेको छैन ।
यसअघि पनि पटक-पटक विभागको सर्भरमा समस्या आउँदा सेवाग्राहीले सास्ती खेप्दै आएका थिए ।
सेवा अवरुद्ध हुँदा लाइसेन्सको परीक्षा पास गरेर बसेका, विदेश जानका लागि छिटो लाइसेन्स बनाउन चाहेका तथा नवीकरणको पर्खाइमा रहेका लाखौं सेवाग्राहीहरू प्रत्यक्ष मारमा परेका छन् ।