विद्यार्थीलाई गगनको सुझाव : ‘नथाक्नुस्, नभाग्नुस्, नगल्नुस्’

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा केही राम्रो भएपनि भने जति गर्न नसकेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले कसैले देशमा खतरा गरेको छ भनेर पनि नपत्याउन र देशमा केही भएन भनेर भन्नेहरुको कुरा पनि नपत्याउन विद्यार्थीलाई आग्रह गरे । आफूले अध्ययन गरेर मात्रै समर्थन र विरोध गर्न सुझाव दिए । देशमा केही राम्रो भएको तर केही राम्रो गर्न नसकिएको स्वीकार गरे । राम्रो गरेकोमा धन्यवाद दिन र भनेजति गर्न नसकेकोमा प्रश्न गर्न आग्रह गरे । विद्यार्थीलाई अब हाम्रो जिम्मा हो भनेर जिम्मेवारी लिँदै नथाक्न, नभाग्न र नगल्न सुझाव दिए । 

महामन्त्री थापाले भने, ‘कसैले यो देशमा खतरा गरेको छ, भएको छ भनेर नपत्याउनुस् । तर कसैले आएर यो देश बर्बाद भयो, झुर भयो भनेर पनि नपत्याउनुस् । यो देशमा केही राम्रो भएको छ । गर्नुपर्ने जति राम्रो किन गरिनस् भनेर गाली पनि गर्नुस् । बाँकी रहेको म गर्छु भनेर जिम्मा लिनुस् न । नथाक्नुस्, नभाग्नुस् । नगल्नुस् । अडिएर बस्नुस् । नयाँ कुरा सिक्नुस्, क्वेशन गर्नुस् । क्रिटिकल हुनुस्, रमाइलो पनि गर्नुस् ।’

महामन्त्री थापाले अब आउने पुस्ताले आफूले भन्दा राम्रो काम गर्ने आफूलाई विश्वास रहेको बताए ।

Share News