काठमाडौं । कालीमाटी तरकारी बजारमा भित्रिएको रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । भक्तपुरबाट मंगलबार बिक्रीका लागि ल्याइएको रायो सागमा ८२.७८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी पाइएको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार परीक्षणका क्रममा यस्तो तथ्य फेला परेको हो । केन्द्रीय कृषि प्रयोगशालाले सोही दिन बजारका १७ थरी तरकारी र फलफूल परीक्षण गर्दा रायो साग अत्यधिक विषादीयुक्त पाइयो ।
सरकारको मापदण्डअनुसार विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भए मात्र उपभोगयोग्य मानिन्छ । तर, रायो सागमा भेटिएको ८२.७८ प्रतिशत विषादीका कारण यसलाई उपभोग अयोग्य ठहर गरिएको हो ।
यसअघि पनि धनियाँ, काउली, ब्रोकाउली र तिते करेला जस्ता तरकारीहरूमा यस्तै उच्च विषादी भेटिएको थियो ।